स्कटल्याण्डसँग २ रनले चुकेकाे नेपाललाई थुकथुकी
- गाउँ सहर संवाददाता
- २६ जेठ सोमबार, २०८२ | ०६:४९:०० मा प्रकाशित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डसँगको खेलमा नेपाल २ रनले पराजित भएको छ ।
स्कटल्याण्डले दिएको ३२४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३२१ रनमा अलआउट भयो । भीम सार्की, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपनि अन्त्यमा स्कटल्याण्ड भाग्यमानी साबित भयो ।
बलियो लक्ष्य पछ्याउँदा ३४-३ को दबाबपूर्ण स्थितिमा रहेको नेपालका लागि आरिफ शेख र भीम सार्की मिलेर ९४ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । आरिफ ३९ रनमा आउट भएपछि भीम ७३ रनमा तथा त्यसपछि आएका गुल्शन झा ११ रनमा आउट भएपछि नेपाल १८३-६ को अवस्थामा पुगेको थियो ।
१८३ रनमा ६ विकेट गुमेपछि दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले मिलेर सातौं विकेटका लागि १०५ रनको सानदार साझेदारी गर्दै सम्भावित शानदार जितको नजिक पुर्याएका थिए । तर दिपेन्द्र ४७औं तथा सोमपाल ४८औं ओभरमा आउट भएपछि करण केसी र सन्दीप लामिछाने माथि जिम्मेवारी आएको थियो ।
१२ बलमा १६ रन आवश्यक हुँदा ब्रान्डन म्याकमुलेनले एक चौकासहित ९ रन बेहोरेपछि नेपाललाई ६ बलमा ७ रन आवश्यक भयो ।
अन्तिम ओभरमा नेपाललाई ७ रन आवश्यक छँदा करण केसी स्ट्राइकमा थिए र अनुभवी बलर सफिया शरिफ बलिङमा आए । पहिलो बलमा २ रन लिएर दोस्रो बल डट फेस गरेका करण तेस्रो बलमा क्याच आउट भएपछि नेपाललाई ३ बलमा ५ रन आवश्यक भयो ।
त्यसपछि ललित राजवंशीले ब्याटबाट मिस गरेपनि बाइको रन लिँदा सन्दीप स्ट्राइकमा आए र उनले पनि १ रन लिएपछि नेपाललाई अन्तिम बलमा ३ रन आवश्यक थियो । अन्तिम बलमा ललित बोल्ड भए ।
नेपाल एक साताभित्रै अर्को कीर्तिमानी जितबाट चुकेको हो । नेपालले ओडिआईमा ३०० भन्दा माथिको लक्ष्य हालसम्म पूरा गर्न सकेको थिएन । स्कटल्याण्डसँग गत साता भएको खेलमा २९७ रनको लक्ष्य पूरा गर्दै कीर्तमान बनाएको नेपाललाई आज त्यो कीर्तिमान तोड्ने अवसर थियो ।
नेपालका भीम सार्कीले सर्वाधिक ७३ रन बनाउँदा सोमपालले ६७ र दिपेन्द्रले ५६ रन बनाए । स्कटल्याण्डका म्याकेन्जी जोन्सले ३ तथा शफिया शरिफ र माइकल लिस्कले २-२ विकेट लिँदा ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले १-१ विकेट लिए ।
त्यसअघि कप्तान रिची बेरिङटनको शतक तथा माइकल लिस्कको विस्फोटक फिनिसिङमा स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको बलियो योगफल खडा गरेको थियो । यो नेपालले एसोसियट राष्ट्रसँग बेहोरेको सबैभन्दा उच्च योगफल हो ।
कप्तान रिची बेरिङटनले ११४ बलमा ६ चौका र ४ छक्का मद्दतले १०२ रनमा रनआउट भए । माइकल लिस्क ६२ बलमा १२ चौका र ३ छक्कासहित ९६ रनमा अविजित रहे । ओपनर चार्ली टियरले ६८ रन बनाए ।
नेपालका लागि करण केसीले १० ओभरमा २ मेडन राख्दै ७४ रन खर्चेर २ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । त्यस्तै ललित राजवंशीको नाममा १ विकेट रह्यो ।
नेपालले यसअघि पहिलो खेलमा स्कटल्याण्डलाई हराएको थियो । त्यसपछिको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पनि हराएको थियो ।
लिग २ मा १५ खेल खेलेको नेपाल १० अंकमा सिमित छ । स्कटल्याण्डको १७ खेलबाट २२ अंक भएको छ ।
लिग २ मा ८ एसोसिएट टोलीले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टोलीले सन् २०२७ को ओडिआई विश्वकपको छनोटमा सोझै स्थान बनाउनेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर बस्नेतले ९ करोड २२ लाख घुस खाएको ठहर
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार
- प्रधानमन्त्रीकाे उपस्थितिमा ट्राफिक प्रहरी प्रमुखले उद्घाटन गरे ग्वार्काेकाे ओभरपास
- रास्वपा र राप्रपाले बहिष्कार गरेपनि चलिरहेछ प्रतिनिधिसभा बैठक (लाइभ)
- प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नाेत्तर
- त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालकाे शानदार जित
- घट्याे दाेहाेराे अंकले नेप्से
- संसदमा चर्काचर्की (लाइभ)
- बाढी महाशाखाद्वारा आज काठमाडौँसहित ५६ जिल्लामा सतर्कता अपनाउन अनुराेध
- टी-२० सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
प्रतिकृया दिनुहोस