राजनीति

सात दिनभित्र बैठक बोलाउन बालेनलाई अल्टिमेटम, उपमेयर डंगोलसहित ४१ सदस्यले बुझाए पत्र

काठमाडौं । काठमाडौं महानगपालिकाका मेयर बालेन शाहलाई कार्यपालिका बैठक छिटो बोलाउन माग गर्दै कार्यपालिका सदस्यहरूले दबाब दिएका छन् । उपमेयर सुनिता डंगोलसहित महानगरपालिकाका ४१ जना कार्यपालिका सदस्यले मेयर शाहलाई यथाशीघ्र कार्यपालिका बैठक बोलाउन माग गरेका हुन् ।

आज बसेको अनौपचारिक बैठकले यस्तो माग गरेको हो । ४२ सदस्य रहेको कार्यपालिकामा मेयर शाहबाहेक सबैको उपस्थिति थियो । कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ ।  

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एकपटक बस्नेछ’ भन्ने व्यवस्था छ । तर, काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पुसदेखि बस्न सकेको छैन । 

प्रमुखको काम, कर्तव्य र अधिकारमा पनि सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने उल्लेख छ । 

“कम्तीमा एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक करिब ६ महिनादेखि बस्न नसकेपछि महानगरपालिकाभित्र विकास निर्माण, नीतिगत निर्णयलगायत पनि अन्योलमा पर्दै आएका छन्,” प्रवक्ता नवीन मानन्धरले भने, “स्थानीय तहले असार १५ सम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । तर, लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२–८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गर्न पाएको छैन ।”

स्थानीय सरकार सञ्चालन ऐनमै सभा तथा कार्यपालिकाको बैठक नगर प्रमुखले बोलाउने र बैठकको अध्यक्षता गर्ने प्रावधान छ । तर, मेयरले बैठक नबोलाउँदा आगामी आर्थिक वर्षको बजेट आउने/नआउने समेत अन्योल देखिएपछि कार्यपालिका सदस्यहरूले मेयरलाई घच्घच्याएका हुन् । 

मेयरको नेतृत्वको सीमा निर्धारण समितिको बैठक समेत बस्न नसक्दा बजेट कस्तो र कत्रो ल्याउने भन्नेमा समेत अन्योलता सिर्जना भएको छ । त्योसँगै बर्खासँगै विपद्का घटना पनि बढ्ने सम्भावना छ । यस्तो बेलामा समेत कार्यपालिका बैठक नबस्दा थप अन्योल छाएको छ । 

तर, मेयर शाहले कुनै पनि चासो नदेखाउँदा थप समस्या सिर्जना भएको जनप्रतिनिधिहरूको गुनासो छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत