वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला
- गाउँ सहर संवाददाता
- १४ बैशाख आइतबार, २०८२ | ०६:०३:०० मा प्रकाशित

काठमाडाैं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आइतबार देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा. देवमणि भट्टराई बताउँछन् ।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्त्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्त्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उनले बताए । यस्तो महत्त्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।
दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए ।
यस अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।
यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।
यसैबीच दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीका दिन काठमाडौंको थानकोट क्षेत्रमा रहेको मातातीर्थमा मेला लागेको छ । मेला भर्नेहरुको बिहानैदेखि घुइँचो छ ।
कतिपय दर्शनार्थीहरु शनिबार साँझ नै दीप प्रज्वलन गरी रातभर जाग्राम बसेका थिए । उनीहरुले बिहान सबेरै स्नान गरी पूजा गरेका छन् ।
मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।
आमा नहुनेहरु मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् । आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औँसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।
यसैबीच मातातीर्थ औँसीको अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
आजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति
- निषेधित क्षेत्रमा प्रहरी र शिक्षकबीच झडप, महासंघले बोलायो आकस्मिक बैठक
- संसदमा के छलफल चलिरहेकाे छ ? (लाइभ)
- डोल्पामा गयो भूकम्प
- प्रधानमन्त्री ओलीको टिप्पणी–सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू देउवा फर्केपछि फत्रक्क गले
- अटेर गरिरहेकाे सामाजिक सञ्जाललाई सरकारले दियो प्रतिबन्ध लगाउने चेतावनी सातदिने अल्टिमेटम
- शिक्षकलाई शिक्षामन्त्री पन्तले बोलाए वार्तामा
- प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा कसले के भने (लाइभ)
- वैशाख १२ मै अर्थात आज सिन्धुपाल्चोकमा गयो भूकम्प
- वैशाख १२, आज भूकम्प स्मृति दिवस मनाइँदै, दशक बित्दा पनि अझै निको भएको छैन घाउ
प्रतिकृया दिनुहोस