गाउँ सहर

आगलागीबाट सोलुखुम्बुमा गाउँपालिकाकाे तीन शाखा कार्यकक्ष जलेर नष्ट

साेलुखुम्बु । जिल्लाकाे लिखुपिके गाउँपालिकाको वडा नं ३ मा आगलागीबाट गाउँपालिका अन्तरगतका तीन वटा शाखाको कार्यकक्ष जलेर नष्ट भएकाे छ । 

आइतबार भएको आगलागीबाट स्थानीय पालिकाले भाडामा लिएकाे रुद्र बहादुर खत्रीको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । गाउँपालिकाको कार्यालय नजिकै रहेको उक्त घरमा गाउँपालिका अन्तरगतका तीन वटा शाखाको कार्यकक्ष थिए । 

गाउँपालिकाका प्रवक्ता मनिराज बस्नेतका अनुसार गाउँपालिका अन्तरगतका प्रधानमन्त्री रोजगार कार्यक्रम शाखा, पूर्वाधार तथा नापी शाखा र स्टोर शाखाका कार्यकक्षहरू समेत जलेर नष्ट भएका छन् ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको भए पनि के कारणले आगलागी भयो भन्ने यकिन नभएको प्रवक्ता बस्नेतले बताए । प्रवक्ताका अनुसार घरमा लागेको आगो स्थानीयहरूको सहयोगमा हाल नियन्त्रणमा लिएको छ ।  

आगलागी हुन साथ तीन ओटै शाखामा रहेका सामाग्री सबै जलेर नष्ट भएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत