स्वास्थ्य

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौँ । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रलाई व्यवसायिक रुपमा मात्र हेर्न नहुने बताएका छन् । मेडिकल कलेजहरुले प्रदान गर्दै आइरहेको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाले समाज र राष्ट्रप्रति नै योगदान गरेको बताउँदै अध्यक्ष प्रा.डा. अन्सारीले राज्यले निजी क्षेत्रबाट मेडिकल शिक्षा र स्वास्थ्य सेवामा पुर्याउँदै आएको योगदानको कदर गर्नुपर्ने बताएका हुन् ।

सरकारले जनताका लागि ल्याएको निःशुल्क स्वास्थ्य सेवाका अभियानहरु सफल पार्न निजी मेडिकल कलेजहरुले महत्वपूर्ण योगदान दिएको उनको भनाई छ । प्रा.डा. अन्सारीले कलेजमा गोकर्णेश्वर नगरपालिका स्वास्थ्य कार्यक्रम, सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम, कर्मचारी सञ्चय कोष स्वास्थ्य कार्यक्रम, नेपाल सरकार बीमा कार्यक्रम तथा विपन्न नागरिकको स्वास्थ्य सेवा कार्यक्रम सूचारु रहेको जनाए ।

कलेजको २५ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष प्रा.डा. अन्सारीले कलेजले दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न, जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न तथा चिकित्सा क्षेत्रमा नविन सोध र अनुसन्धानहरु गर्न टेवा दिएको जिकीर गरे । कलेजको वार्षिक प्रतिवेदन पेश गर्दै उनले आगामी आर्थिक वर्षभित्रै मुटु रोगको उपचारका लागि क्याथ ल्याब, क्यान्सर उपचारका लागि अंकोलोजी सेवा विस्तार गरिने जानकारी दिँदै ३.५ टेस्ला एमआरआई र १२८ स्लाइसको सिटी क्यान उपकरण केही महिनाभित्रै जडान हुने बताए ।

कलेजको २५ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । साधारण सभाका अनुसार आर्थिक वर्ष २०८०/०८१ को खूद मुनाफाबाट १५ करोड, ७४ लाख, २३ हजार ७ सय ४७ रुपैंया कर सहितको नगद लाभांश स्वीकृत गरेको छ । साथै, साधारण सभाले यसअघि सञ्चालक समितिले गरेका सम्पूर्ण निर्णयहरु सर्वसम्मतले पारित समेत गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत