संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, कार्यसूचीमा ६ अध्यादेश
- गाउँ सहर संवाददाता
- १८ माघ शुक्रबार, २०८१ | ०८:२१:०० मा प्रकाशित
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।
विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् । अधिवशेन सुरु भएको दिन भएकाले यसअघि जस्तै दलीय आधारमा सदस्यहरुले आ–आफ्नो मन्तव्य राख्ने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
गिरीका अनुसार बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यस्तै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन् । त्यसपछि मन्तव्यको क्रम सुरु हुनेछ ।
आजको बैठकमा ६ वटा अध्यादेश समेत पेश हुने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् ।
त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् ।
मन्त्रिपरिषदको सिफारिसमा गत १४ पुसमा राष्ट्रपति रामचन्द्र पौडेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए । त्यसपछि २९ पुसमा थप चार वटा अध्यादेश जारी भएका थिए । २ माघमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि जारी भएको थियो । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेशकाे विराेध गर्ने निर्णय गरेका छन् ।
बैठकमा सभामुखले विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचि पनि छ ।
यसैगरी राष्ट्रियसभाको बैठकमा उल्लेखित कार्यसूचि बाहेक मिडिया काउन्सिल विधेयक, २०८० र नवीरकणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूचि छ ।
दुवै सदनमा विभिन्न विधेयक विचाराधीन हुनुका साथै थप नयाँ विधेयकसमेत दर्ता गरिएका छन् । संसदमा संघीयता कार्यान्वयनसँग जोडिएका संघीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजनजस्ता महत्वपूर्ण विधेयक लामो समयदेखि विचाराधीन छन् । ती विधेयकमाथि सम्बन्धित संसदीय समितिहरूमा छलफल भइरहेको संसद सचिवालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस