रैथाने भान्सै राम्रो : डा. अरूणा उप्रेती
- डा. अरूणा उप्रेती : जनस्वास्थ्यविद्
- २६ पौष शुक्रबार, २०८१ | ०८:४०:०० मा प्रकाशित
केही वर्षपहिले सन्तोष शाहले बेलायतमा सेफको ‘उपविजेता’ भएपछि नेपाल आएर बडो सम्मान पाए। हामीले उनको सफलतामा गर्व गर्यौँ। तर शाहलाई विदेशीहरूले ‘क्याबात’ भनेपछि मात्र सम्मान दियौँ। शाहले जस्तै गरेर पकाउने हाम्रा घरका मान्छे (आमा, बज्यै, दिदी, फुपू, छोरी) हरूले पकाएका खानालाई भने अवहेलना गर्छौँ।
सन्तोष शाहले नेपाली नामले विदेशमा भएका परिकार नै पकाएर ख्वाएपछि त्यो नाम अंग्रेजीमा खोजी भयो तर हामीचाहिँ कुनै खाना अंग्रेजीमा भनेपछि ‘वाह... क्या राम्रो’ भनिहाल्छौँ। अहिले हामी घरमा अतिथि बोलाउँदा बाहिरबाट स्वास्थ्य खराव पार्ने पिज्जा र केक ल्याएर ख्वाउँछौँं। घरमा पकाएको दाल, भात, तरकारी, रोटी, अचार, साग दिन हामीलाई लाज लाग्छ। त्यसैगरी पाहुनालाई मोही, कागती र बाबरीको सर्वत दिन हिच्किचाउँछौँं। तर पाहुनालाई ‘स्वास्थ्य खराब पार्ने गुलियो पेय पदार्थ भने मनग्य ख्वाउँछौँ।
हामी पाहुनालाई बदाम दिन लाज मान्छौँ तर पिनटको ‘प्याकेट’ दिन भने गर्व गर्छौँ। चना भुटेर पाहुनालाई दिन हिच्किचाउने हामी प्याकेटमा रहेको नून हालेको ‘ग्रिनपिज’ भने दिन्छौँ। दूध खाए मुटुमा बोसो लाग्छ र मुटुको रोग लाग्छ भनेर कुनै विदेशकाले भनेपछि हामी गाईको दूध छाडेर भटमासको दूध खान्छौँ।
खाना खाँदाखेरी कति कति पोषण तत्त्व शरीरमा चाहिन्छ भनेर ‘वैज्ञानिक तरिकाले’ हाम्रा पुर्खालाई थाहा थिएन, उनीहरूले शुद्ध खाए। अहिले विदेशी वैज्ञानिकले भनेपछि हामी अनेक शुद्ध पोषक तत्त्वबारे कुरा त गर्छौँ तर हजारौँ वर्षदेखि हाम्रा पुर्खाले यसबारेमा ज्ञान दिएका थिए भनेर हामी बिर्सन्छौँ।
स्वास्थ्यलाई संरक्षण गर्न पसलको चक्की खाने बानीले दिक्क लागेको छ। यसरी चक्की किन्दा हामी के बिर्सन्छौँ भने यी सब कुरा हाम्रो भान्छामा सजिलैसँग पाइन्छ। विदेशीले ‘क्यालोरिफाइड बटर’ खाए राम्रो हुन्छ भनेपछि हामीले आँखा चिम्लेर मान्यौँ। धेरैले ‘बटर’ ल्याएर खायाैं तर त्यो महँगो ‘बटर’ हाम्रो घरमा नै पाइने घिउको एक रूप हो भनेर हामीले बिर्सियौँ। घरमा सजिलै पाइने ‘बाबरी’ को पातलाई वास्ता नगर्ने हामीहरू ‘मिन्ट वाटर’ भनेर बोतलमा आएपछि महँगोमा किन्दाचाहिँ दंग पर्यौँ ।
विदेशीको नक्कल गरेर हामीलाई खानेकुराभन्दा प्रोटिन, कार्बोहाइड्रेट, लौह तत्त्व, क्याल्सियम आदिको मात्राबारे बढी बुझ्यौँ। ‘खानालाई सम्पूर्णतामा खानुपर्छ’ भन्ने कहिल्यै सिकेनौँ।
हामी फर्सीको तरकारी मन अमिलो पारेर खान्छौँ। ‘पम्पकिन सुप’ भने आनन्द मानेर खान्छौँं। पम्पकिन र फर्सी एउटै हो भन्ने थाहा भएको भए कुरा नै अर्को हुने थियो। थाहा नपाउनेले सोयाविनचाहिँ वाह भनेर खान्छन्, भटमास वास्ता गर्दैनन्। भुटेको भात छ्या हुन्छ तर होटलमा ‘फ्राइड राइस’ बढी पैसा तिर्दा आनन्द लाग्छ। किन हामीलाई भोजनमा पनि अंग्रेजी मोह ? अंग्रेजी भाषामा भनिएका खाना राम्रो, नेपाली भाषाका परिकारभन्दा नराम्रो भन्ने मानसिकताले जरो गाडेको छ।
अहिले\ रैथाने ज्ञानको खोजी गरेर हजुरआमाहरूको ज्ञानको आदर गर्दैनौँ। छलफल गर्दैनौँ। रैथाने ज्ञान र मौलिक भोजनलाई बेवास्ता गरेर विकास हुन सक्दैन।
हामी मालपुवा, सेल र जेरीको सट्टा केक किन्छौँ। कोदोको रोटीको सट्टा प्यान केक खान्छौँ।
भान्छाको खानेकुराले कुपोषण कम हुन्छ भन्ने विचारलाई अवहेलना गर्छौं।
केही दिनअघि गाउँमा जाँदा बाटो बाटोमा आफैँ फलेको कर्कलो टिपेर घरमा ल्याएर सुकाएपछि गुन्द्रुक र मस्यौरा बनाएर फलामको भाँडामा पकाएर अमिलो गोलभेँडाको अचार र भात खाएँ। यसले शरीरमा लौहतत्त्व पनि दियो। यो ज्ञान यदि गाउँघरमा बाँड्न सकिए त सायद महिला र बालबालिकालाई रक्तअल्पताबाट बच्न मद्दत हुने थियो।
चीन, ब्राजिल, ताइवान, बाङ्लादेश र अफ्रिकामा खाइने कर्कलो / पिँडालु पनि प्रयोग गरिन्छ। नेपालमा भने कर्कलो र पिँडालु खाने केही विशेष दिन भए पनि प्रायः अरूबेला हेला नै गरिन्छ। सायद कर्कलो र पिँडालु यति अपहेलित भएको कारण जताततै पाइने भएर होला।
स्वस्थ व्यक्तिहरूलाई स्वादका साथै रोगसँग लड्ने शक्ति दिने कर्कलो त विभिन्न तरिकाले प्रयोग गरेकै वेश हुन्छ। सस्तो भन्दैमा हेप्नु पर्दैन। बाहिरको प्याकेटका कुहिएका खानेकुराभन्दा त कर्कलो र पिँडालुको तरकारी प्रयोग गरे स्वस्थ भइन्छ भनेर कसले सिकाइदिनु?
अंग्रेजीमा ‘अमरान्थ’ भनिने र सुपर फुड भनिने लट्टेको सागको तरकारी पाहुनालाई ख्वाउँदा उनीहरूले अपमानित महसुस गर्न सक्छन् तर जब त्यही लट्टेचाहिँ अंग्रेजी नाम दिएर ठूलो होटेलमा बेच्दा वाह, क्या गजब मानिन्छ। भान्सामा पाइने यस्ता भोजनबारे मन्थन गर्ने हो कि?
प्रतिकृया दिनुहोस