शैलुङमा याे वर्षकाे पहिलाे हिउँ, घुम्नपर्ने गन्तव्य शैलुङ (फाेटाेफिचर)
- २४ पौष बुधबार, २०८१ | ०९:३५:०० मा प्रकाशित
रामेछाप । ‘माथि माथि शैलुङेमा चौंरी डुलाउनेलाई हत्केलामा मायाको गुराँस फुलाउनेलाई भन्दिनु है, भन्दिनु मेरो चुल्ठो खाली छ उनको, त्यो मनै जाली छ...’ याे गीत नसुन्ने कमै हाेलान् ।
शैलुङ उच्च पहाडी भूगाेल हाे । जहाँ यस वर्षकाे पहिलाे बुधबार हिमपात भएकाे छ । शैलुङको आफ्नै मौलिकता छ । प्राकृतिक रुपमा धनी शैलुङको आकर्षण बनेको छ, धार्मिक पर्यटन । अहिले हिउँले छपक्कै ढाकेकाे छ । झन्डै साढे दुई दशकअघि गायिका कुन्ती मोक्तानले गाएको यो गीत अहिले पनि जनजिब्रोमा झुन्डिएकै छ । गीतले भनेजस्तै शैलुङ सुन्दर छ ।
दोलखा र रामेछापको संगमस्थल ‘शैलुङ’ पर्यटकको रोजाइमा पर्न थालेको छ । दोलखाको मूढे हुँदै तथा रामेछापको गाल्बा–दोरम्बाबाट सजिलै पुग्न सकिने शैलुङमा पछिल्लो समयमा आन्तरिक पर्यटक र बाह्य पर्यटकको चहलपहल देख्न सकिन्छ । दोरम्बा गाउँपालिकाको डडुवा खोलाखर्कबाट एक किलोमिटर हिडेर शैलुङ डाँडामा पुग्न सकिन्छ । सय थुम्का रहेको मानिने शैलुङ र यसका वरपर हरेक वर्ष हिउँदमा हिउँ पर्दछ । यो क्षेत्र समुद्री सतहबाट ३२ सय मिटर उचाईमा पर्दछ । जहाँ भ्यूटावर पनि छ । दिनहुँजसो फिल्म छायाँकन हुने यस क्षेत्रबाट मनमोहक दृष्यावलोकन गर्न सकिन्छ ।
शैलुङको खोलाखर्क र दोलखाको ढुंगेमा बास बसेर पनि बिहानको सूर्योदय हेर्न सकिन्छ । प्राकृतिक रुपमा बनेका सय थुम्काको संयुक्त रुप हो । ‘यी प्राकृतिक थुम्का हिउँ पर्दा हिउँले रमाइला देखिन्छन्, हिउँ नपर्दा हरियो दुवोले रमाइला देखिन्छन्, यहाँ नरमाइलो र उराठ लाग्ने मौसम कहिल्यै हुँदैन ।
यहाँबाट चारैतिर देखिने हिमश्रृङ्खलाहरु र मौसम अनुसारको वनस्पतीले छुट्टै अनुभूति दिलाउँछ । यहाँबाट विहानीपख सूर्याेदयको दृश्य अत्यन्तै लोभलाग्दो देखिन्छ । त्यसैगरी वसन्त ऋतुमा यस भेगमा फूल्ने विभिन्न प्रजातिका लालीगुराँस र सेतो चिमलसहित अन्य फूलहरु आकर्षणको मुख्य पक्ष मान्न सकिन्छ । काेराेना भाइरस (काेभीड-१९) ले पर्यटन क्षेत्रमा असर गरेपनि विस्तारै पर्यटकहरूकाे आवागमन हुन थालेकाे छ । घुम्न लायक गन्तब्यमध्ये शैलुङ बिर्सन नहुने स्थान हाे ।
थप तस्वीरहरू
तस्बिर : दावा सङ्बु शेर्पा
प्रतिकृया दिनुहोस