एनपीएल: चितवनलाई हराउँदै कर्णाली याक्स क्वालिफायरमा
- गाउँ सहर संवाददाता
- ३ पौष बुधबार, २०८१ | १२:३३:०० मा प्रकाशित
काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
बुधवार भएको इलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
कर्णालीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग खेल्नेछ । पहिलो क्वालिफायरमा आजै सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।
१ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन मात्र जोड्न सक्यो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रन बनाए । उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । एनपिएलको आफ्नो तेस्रो अर्धशतक उनले ३२ बलमा पूरा गरे । बोपारा नन्दन यादवको बलमा गुलशन झाबाट समातिए ।
कप्तान कुशल मल्लले २४ बलमा १ छक्काको सहयोगमा २१ रन जोड्दै विपिन शर्माको बलमा बोल्ड आउट भए ।
ल्युक बेनकिस्टेन १३ बलमा १ चौका र १ छक्काको सहयोगमा १६ रन जोडे । उनी जिशान मक्शुदबाट बोल्ड आउट भए ।
दोस्रो विकेटका रुपमा विपिन रावल १० बलमा ४ चौकाको सहयोगमा १८ रनमा जोड्दै आउट भएका थिए । विपिन सोमपाल कामीको बलमा गुलशनबाट समातिएका थिए ।
पहिलो ओभरको पाँचौ बलमा हसन इसाखिल १ रन जोड्दै आउट भए । इसाखिल कर्णालीका कप्तान सोमपालको बलमा गुलशनबाट समातिएका थिए । सन्तोष कार्की ८, अमरसिंह राउटेला ९ तथा सोहेल तन्भिर ४ रनमा आउट भए । शरद भेषवाकर १० रनमा नट आउट रहे ।
कर्णालीका लागि मक्शुदले ३ तथा सोमपाल कामी र नन्दनले समान २ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा बुधवार टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको थियो ।
कर्णालीका लागि कोल्सावालाले सर्वाधिक ५३ रन जोडे । उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । एनपिएल डेब्यू खेल खेलिरहेका कोल्सावालाले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । अर्धशतक बनाए लगत्तैको अर्को ओभरमा कोल्सावाला रवि बोपाराको बलमा शरद भेषवाकरद्वारा समातिए ।
विलियम बोसिस्टोले ३९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे । एनपिएलको आफ्नो दोस्रो अर्धशतक बोसिस्टोले ३७ बलमा पूरा गरे । अर्धशतक पूरा गरे लगत्तै बोसिस्टो सोहेल तन्भिरको बलमा बोल्ड आउट भए । उनले यस अघि लिग चरणको खेलमा विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका थिए ।
चाल्डिक वाल्टन २२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन जोड्दै नट आउट रहे । देव खनाल ३ बलमा ३ रन जोड्दै रन आउट भए ।
दोस्रो ओभरको पहिलो बल सामना गर्ने क्रममा रित गौतम आउट भएका हुन् । इनिङको पहिलो बल सामना गर्ने क्रममा रित सोहेल तन्भिरको बलमा विकेटकिपर विपिन रावलबाट समातिए ।
मक्शुदले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडे । मक्शुद शरदको बलमा रञ्जित कुमारबाट क्याच भए । शरदको प्रतियोगितामा यो पहिलो विकेट हो ।
चौधौं ओभरको चौथो बलमा गुलशन रनको खाता नखोल्दै कप्तान कुशलको बलमा बोल्ड आउट भए । चितवनका लागि तन्भिरले २ तथा बोपारा, शरद र कुशलले समान १ विकेट लिए ।
लिग चरणको खेलमा पनि कर्णालीले चितवनलाई पराजित गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घरजग्गा कारोबारबाट एक महिनामै पौने ४ अर्ब राजस्व उठ्यो
- प्रधानमन्त्रीको प्रतिबद्धता : त्रिविको जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउनेछ
- कर्णालीलमाथि जितका लागि चितवनले पायाे १७६ रनको लक्ष्य
- कर्णालीमाथि जितका लागि चितवनले पायाे १७६ रनको लक्ष्य
- स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन परिपत्र
- तीन महिनामा विद्युत प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
- एनपीएल : प्लेअफका २ खेल हुँदै, पहिलाे खेलमा चितवनविरुद्ध कर्णाली पहिले ब्याटिङमा
- एनपीएलकाे पुरस्कार घाेषणा : विजेताले १ करोड १० लाख रुपैयाँ पाउने, चाैथाेले कति ?
- एनपीएलकाे पुरस्कार घाेषणा : विजेताले १ करोड १० लाख रुपैयाँ पाउने, चाैथाेले कति ?
- एसिसी यु-१९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सेमिफाइनलमा
प्रतिकृया दिनुहोस