गाउँ सहर

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि थप १५ दिनको म्याद थप भएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश भिमलाल बेल्बासेको इजलासले रविमाथी थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

उनीमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन र १३ दिन म्याद थप गरी अनुसन्धानपछि यसपल्ट थप १५ दिन म्याद थप गरिएको हो । आइतबार सरकारकातर्फबाट जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय विपिनराज तिवारी र शान्तिदेवी शर्मा, पीडिततर्फका कानुन व्यवसायी युवराज पराजुलीले बहस गरे ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरे, मेघराज पोखरेल, हरिप्रसाद सुवेदी र अधिवक्ता नारायणदत्त कँडेल र जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए ।

सरकारी वकिल र पीडिततर्फका कानुन व्यवसायीले अनुसन्धानको प्रक्रिया जारी रहेको, तथ्य प्रमाण बुझ्ने काम बाँकी रहेको, विभिन्न कागजात आइनपुगेकोले म्याद थप गर्नुपर्ने तर्क गरेका थिए । लामिछानेका कानुन व्यवसायीले प्रमाण बिनानै लामिछानेलाई म्याद थप गर्नुपर्ने कुनै प्रमाण नरहेको दोहोर्‍याएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत