गाउँ सहर

राज्य व्यवस्था समितिमै राज्यमन्त्री तामाङकाे विषयमा शर्माले प्रश्न उठाएपछि...

  • ३० कार्तिक शुक्रबार, २०८१ | १८:४५:०० मा प्रकाशित

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा परेको विषयमा संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिमा सवालजवाफ भएको छ।

शुक्रबार बसेको समितिको बैठकमा सांसदहरुले कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा परेको विषयमा जवाफ मागेपछि राज्यमन्त्री तामाङ र सांसदहरुबीच सवालजवाफ भएको हो।

बैठकमा राज्यमन्त्री तामाङ अख्तियार ऐन संशोधनकर्ताका रुपमा उपस्थित थिए। त्यस क्रममा कांग्रेस सांसद विश्वप्रकाश शर्माले राज्यमन्त्रीकै कम्पनी कालोसूचीमा परेको विषय के हो भनेर प्रश्न उठाएका थिए।

शर्माले भने,’राज्यमन्त्रीकै कम्पनीले समयमा निर्माणसम्बन्धी काम नगरेको भनेर कालोसूचीमा परेको छ। यो विषय के हो।’

जवाफमा राज्यमन्त्री तामाङले सांसद हुनुभन्दा दुई वर्षअघि नै आफूले कम्पनी छाडिसकेको दाबी गरे। उनले भने, ‘मैले सांसद हुनुभन्दा दुई वर्षअघि नै कम्पनी छाडिसकेँ। कानुनबमोजिम मैले कम्पनीको कुनै पनि दायित्व बहन गर्नु पर्दैन।’

यदि आफूले कानुनविपरीत काम गरेको भए एक मिनेट पनि पदमा नबस्ने बताए। कम्पनीले गरेको कामका लागि कानुनबमोजिम अयोग्य ठहरिने भए आफूले राजनीति नै छाडिदिने उनको भनाइ थियो।

यस्तै, नेकपा एमालेका सांसद रघुजी पन्तले कान्छाराम कन्स्ट्रक्सनले अलपत्र छाडेको काम पूरा गर्नुपर्नेमा जोड दिए। उनले भने,’तपाईं कम्पनीमा आबद्ध हुँदाखेरी नै कम्पनीले गरेको कामको विषयमा प्रश्न उठेको हो। तपाईंले जहाँजहाँ काम अलपत्र छाड्नुभएको छ, त्यो काम पूरा गरिदिनुस्। सकिन्छ।’

जवाफमा राज्यमन्त्री तामाङले गैरकानुनी काम गरेको भए जरिवाना तिर्न तयार रहेको बताए। ‘कम्पनीलाई राज्यले ज्वाइँ पालेजसरी पालेको छैन। करोडौँको सम्पत्ति धरौटीमा छ। यदि हामीले गैरकानुनी काम गरेको भए कानुनबमोजिम जरिवाना तिर्न तयार छु।’

तपाईँको मत