गाउँ सहर

कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

मोरङ । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो ।

वर्षाका कारण सबैभन्दा बढी धान बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा यस वर्ष दुई लाख ७५ हजार दुई सय ६७ दशमलव ९८ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो, जसमध्ये पाँच हजार सात सय २२ दशमलव ७८ हेक्टर जमिनमा १७ करोड ६१ लाख ७५ हजार मूल्य बराबरको क्षति पुगेको खाद्य सुरक्षा तथा अनुगमन महाशाखा कोशी प्रदेशकी प्रमुख डा दीपा दियालीले बताइन् । प्रदेशमा सबैभन्दा धेरै खोटाङमा तीन हजार सात सय ३९ दशमलव तीन हेक्टर धान बालीमा क्षति पुगेको उनले जानकारी दिइन् ।

यसैगरी सुनसरीमा आठ सय २४ हेक्टर, उदयपुरमा तीन सय ९८ दशमलव ७८ हेक्टर, झापामा दुई सय ८७ हेक्टर, मोरङमा दुई सय ४४ हेक्टर, भोजपुरमा एक सय १३ हेक्टर, तेह्रथुममा ३४ दशमलव ७५ हेक्टर  र सोलुखुम्बुमा ११ दशमलव दुई हेक्टर जमिनमा क्षति पुगेको उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशले जनाएको छ ।

तरकारीतर्फ चार सय १४ दशमलव ८० हेक्टर जमिनमा रु ११ करोड १८ लाख ७८ हजार मूल्य बराबरको क्षति भएको छ । आठ सय ७९ दशमलव ७५ हेक्टर जमिनमा लगाइएको एक करोड ६२ लाख चार हजार, दुई हजार तीन सय ५७ दशमलव ५० हेक्टर जमिनमा लगाइएको कोदो रु तीन करोड ७१ लाख मूल्य बराबरको क्षति भएको छ । यसैगरी १० दशमलव ५० हेक्टर जमिनमा रु २७ लाख ७३ हजार मूल्य बराबरको फलफूल र ५८ दशमलव ६० हेक्टर जमिनमा रु ४८ लाख १२ हजार मूल्य बराबरको दलहन बालीमा क्षति भएको मन्त्रालयले जनाएको छ । रासस

गाउँ सहर संवाददाता

तपाईँको मत