तर यो दशैँमा परिवर्तन गर्नैपर्ने भन्ने एउटा कुरा चाहिँ छ र त्यो हो आफ्ना भावी सन्ततिलाई दिने आशीर्वाद !
- पवन दाहाल
- २४ असोज बिहीबार, २०८१ | १८:४२:०० मा प्रकाशित
दशैंको माहोल छ जताततै हर्ष उल्लास उमङ्ग साथसाथै आफ्नो जन्मथलो जाने तीव्र इच्छा । कतै दशैंका लागि नयाँ नोट साट्नेको लर्को त कतै आफ्नो गन्तव्यमा जान मोटर अगाडिकाे लर्को ।
धेरै जनाको दशैं अगाडिको चिन्ता । कति खर्च गर्ने ? के किन्ने ? कता जाने ? कसरी मनाउने ? कति दक्षिणा दिने ? इत्यादि । विगतका वर्षमा पनि यही देखेको र हालको वर्षमा पनि खासै परिवर्तन नहोला, हुँदा पनि हुँदैन आखिर परम्परा न हो । शताब्दीदेखि चल्दै आएको परम्परा के ठिक के बेठिक यसको निर्क्योल गर्ने विवेक ममा छैन । ठिक बेठिक जेसुकै होस् यसमा भन्नु पनि केही रहेन । व्यर्थमा विवाद होला, नबोलेकै ठिक । जे छ जसो छ चलेकै छ सबै खुसी नै छन् भैगाे त यति भए ।
तर यो दशैँमा परिवर्तन गर्नैपर्ने भन्ने एउटा कुरा चाहिँ छ र त्यो हो आफ्ना भावी सन्ततिलाई दिने आशीर्वाद । यो दशैंमा आफ्ना भावी सन्ततिलाई पढेर ठूलो मान्छे हुनु र ठूलो मान्छे भनेको डाक्टर, इन्जिनियर, बैंकर अथवा सुकिला कपडा लगाउने इत्यादि मात्र होइन, ठूलो मान्छे भनेको किसान पनि हो त्यसैले ठूलो भएर एक असल र सबल किसान हुनु भनेर आशीर्वाद दिए कस्तो हुन्थ्यो खै ।
तर यो दशैँमा परिवर्तन गर्नैपर्ने भन्ने एउटा कुरा चाहिँ छ र त्यो हो आफ्ना भावी सन्ततिलाई दिने आशीर्वाद । यो दशैंमा आफ्ना भावी सन्ततिलाई पढेर ठूलो मान्छे हुनु र ठूलो मान्छे भनेको डाक्टर, इन्जिनियर, बैंकर अथवा सुकिला कपडा लगाउने इत्यादि मात्र होइन, ठूलो मान्छे भनेको किसान पनि हो त्यसैले ठूलो भएर एक असल र सबल किसान हुनु भनेर आशीर्वाद दिए कस्तो हुन्थ्यो खै ।
यो देशमा किसानले आफ्ना भावी सन्ततिलाई जे भएपनि हुनु, जे बने पनि बन्नु तर भविष्यमा कहिले पनि माटो खोताल्ने तेरा बाआमा जस्तो मलौटे बलौटे किसान चाहिँ बिर्सिएर पनि नहुनु भनेर दिएको आशिर्वादले जुन अवस्थाको सिर्जना भएको छ त्यसको परिणाम त अहिले हामी सबैको सामुन्ने जति अन्देखा गरेपनि बारम्बार त्यही दृश्य दोहोरी नै रहन्छ । यो देशको पतन त त्यही समयबाट नै सुरु भएको जुन समयमा हाम्रा हजुरबा बुवाले सेता सुकिला कपडा लगाएर अग्ला भवनमाथि बस्नेलाई सफल र आशीर्वादमा पनि त्यस्तै हुनु भनेर आशय प्रस्तुत गर्न थाल्नुभयो । तर यसमा दोष उहाँहरूको चाहिँ पक्कै होइन, दोष त्यही शासक वर्गको हो जुन शासक वर्गले आम जनतालाई यतिसम्म सोच्न बाध्य बनायो ।
मेरो भाव यो होइन कि सबै किसानका सन्तति किसान नै हुनुपर्छ तर यो कुरा सत्य हो कि एक किसानले आफ्ना सन्ततिलाई गर्वका साथ तिमी पनि मेरो पुर्खौली पेशालाई बिना कुनै शिकायत वा हिजकिचाहट अपनाउन सक्छौ भनेर गर्वका साथ हृदय खोलेर भन्न सक्नुपर्छ र यो अवस्थाको सिर्जना गराउने काम त्यही शासक वर्गकै हो ।
यो एउटा मात्र यस्तो देश होला जहाँ शिक्षकले र किसानले आफ्नो सन्ततिलाई न त शिक्षण पेशामा लाग्नु न त किसानी पेशामा नै भनेर आउने सन्ततिकाे ऊर्जा खण्डित गर्ने गर्छन् । तर गर्नुपर्ने चाहिँ ठिक यसको विपरीत हो ।
कल्पना पनि गर्न सक्दिन त्यो देश कसरी अखण्डित रहिरहन सक्छ जबसम्म याे देशमा किसान र शिक्षकको सम्मान हुँदैन ।
बाँकी त दशैंको समय छ सबैजना घर जान्छौँ नै होला कसैको बारीमा धानको बालासँगै फोटो आउला कतिको बाख्रा पाठासँग यति गर्दागर्दै त्यो फोटोलाई तराजुको एकापट्टि राखेर र अर्कोतिर किसानको रगत र पसिनालाई सँगै राखेर जोख्ने प्रयत्न चाँही पक्कै गर्नुहोला । "कोदो फुल्यो बारीमा धानको बाला झुलो खेतैमा" भनेर टिकटक नआउने त कुरै भएन आयो भने पक्कै लाइक गरिदिनेछु ।
दशैंको हार्दिक मङ्गलमय शुभकामना ।
नवदुर्गा भवानीले हामी सबैको रक्षा गरुन् ।
हजुरहरूको यात्रा सफल रहोस् ।
प्रतिकृया दिनुहोस