गाउँ सहर

नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गरे यस्ताे प्रतिवद्धता

 काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले संघीय अस्पतालमा लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका हुन् ।

मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेसँगै क्यासर रोग निवारण रणनीति बनाउने पहिलो निर्णय गरेका छन् ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले नेपालमा क्यान्सर रोगका बिरामी दिन प्रतिदिन बढिरहेको भन्दै त्यसको निवारणका लागि रणनीति बनाउन आवश्यक रहेको मन्त्रीसमक्ष ‘ब्रिफिङ’ गरेका थिए । मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति ( २०२४–२०३०) स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् ।

‘नेपालको स्वास्थ्य उपचार क्षेत्रमा सुधार भएको महसुस गराउनेछौं । एक महिनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने, व्यवस्थित स्वास्थ्य सुविधा हामी अगाडि बढाउनेछौं’, उनले भने, ‘धेरै ठूला काम कति गर्न सक्छौं, तर साना साना कुराहरुको परिवर्तन गरेर देखाउन सक्छौं ।’

मन्त्री पौडेलले एक हप्ताभित्र तत्काल गर्ने काम र दीर्घकालीन कामहरुको सूची सार्वजनिक गर्ने बताए । ‘अबको एक हप्ताभित्र मन्त्रालयले तत्काल के गर्छ भन्ने कुरा र ३ महिनाभित्र, ६ महिनाभित्र र एक वर्षभित्र गर्ने कार्यक्रम सार्वजनिक गर्नेछौं’, उनले भने ।

मन्त्री प्रदीप पौडेलले शुभकामना दिँदा माला, खादा नभई स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिन आग्रह गरेका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिएपछि मन्त्रालय पुगेका पौडेलले माला र खादा लगाउन अस्वीकार गरेका हुन् ।

‘बधाइ दिन आउनु हुने सम्पूर्ण प्रति मेरो सम्मान छ । यहाँहरुको सल्लाह सुझाव मैले विभिन्न रूपबाट लिने नै छु’, उनले भनेका छन्, ‘शुभकामना दिन आउनुहुने सबैमा माला, खादा, उपहार जस्ता चिजहरु नल्याइदिनु हुन अनुरोध गर्दछु । स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक थप सहयोग सल्लाह र सुझावको अपेक्षा गर्दछु ।’

मन्त्री पौडेललाई स्वागत गर्न मन्त्रालयमा स्वास्थ्य सचिव, मन्त्रालयका कर्मचारी, अस्पताल निर्देशकको भीड लागेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत