ब्लग

हिन्दुत्व ग्रहण गर्दै खाडी मुलुक

गत आइतबार भारतमा मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीकाे सपथ खाँदै गर्दा सोहीदिन उही मोदीले गत फेब्रुअरीमा उद्घाटन गरेको आबूधाबीस्थित ब्यापस् हिन्दू मन्दिर दर्शन गर्ने अवसर मिल्यो। यो मन्दिर मिडल ईस्टकै सबै भन्दा ठुलो मन्दिर हो। सन् २०१५ मा मोदीको भ्रमणसँगै मन्दिरका लागि उक्त जग्गा आबूधाबीका शेख मोहम्मदले दान दिएका थिए। सन् २०१९ देखि शिलान्यासको काम सुरुवात गरेपनि बीचमा कोरोनाका कारण छिट्टै तयार हुन सकेको थिएन। यही सन् २०२४ फेब्रुअरीदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ।

दर्शन गर्न पहिलो प्रवेशद्वार नै चुस्त दुरुस्त र सफा देखिन्थ्यो। कहीँ कतै फोहोर देखिँदैन, सेक्यूरिटी चेक जाँचपछि भित्र पसे पश्चात जब सिँढ़ी उक्लिन थालिन्छ त्यो टाएल्सको सिँढ़ीमा खुट्टा टेक्दा यस्तो गर्मीमा तातो पोलेको महसुस नै हुन्न । सायद त्यो टायल्सको "खासियत' हो। यूएईमा अत्यधिक गर्मी हुने भएका कारण दर्शनार्थीलाई गर्मी नहोस् भन्नका लागि होला।

आँखाले वरिपरि मज्जाले देखिन सकिने मन्दिर करीब ५.४ हेक्टर क्षेत्रफलमा फैलिएको र यसको लागत करीव ४ सय मिलियन दिर्हाम अनुमान छ। भित्र पस्नासाथ विभिन्न देवी देवता अंकित भगवान राम, सीता, लक्ष्मी, शिव, गणेश लगायतका मूर्ति देख्न सकिन्छ। हरेक स्तम्भमा हिन्दू धर्म ग्रन्थ र प्रतीक बुट्टाहरु छ्याप छ्याप्ति देखिन्छ। सेतो इटालिन सिंघमर्मरले बनेका उक्त बुट्टाहरु हेर्दा नै मन आनन्द महसेस हुने गर्दछ।

मन्दिर वरिपरका स्तम्भहरु हेर्दै गर्दा विभिन्न बैदिक वास्तुकलाको अत्याधिक जुरमुराएको देख्न सकिन्छ। जहाँ धार्मिक, सास्कृतिक सभ्यताको चित्रणले मन्दिरलाई थप शोभायमान देखाउन मद्दत पुगेको देखिन्छ। स्तम्भमा भारतीय राजस्थानी, गुजराती शिल्पीका साथै एज़्टेक, मिश्र, यूरोप, चीन, मेसोपोटामियन लगायत अफ्रिकाको समेत कथा कला संस्कृति कुँदिएको प्रस्ट हुन्छ। टाढाबाट हेर्दा पिरामिड शैलीमा निर्माण भएको अनुमान गर्न सकिन्छ।

यस्तो गर्मीमासमेत परिसरभित्र चिसो महसुस हुने गर्दछ। गर्मी प्रतिरोध नैनो टायल्सको प्रयोगका साथै सिसाको प्रयोग छ, अचम्म त के छ भने त्यहाँ कुनै पनि धातुको प्रयोगनै छैन भन्दा हुन्छ। मन्दिर वरिपरि प्रशस्त पार्किंङ्ग सुबिधा हुनुका साथै खेलमैदान बगैंचा, सांस्कृतिक प्रार्थना हल, पुस्तकालयसमेत उपलब्ध छ।

अझ यो मन्दिरको रोचक पक्ष मन्दिरका वास्तुकार क्याथोलिक ईसाई, प्रोजेक्ट मेनेजर सिख, फाउण्डेशन डिज़ाइनर बौद्ध, कंस्ट्रक्शन कम्पनी पारसी, डायरेक्टर जैन हुन र जसले जग्गा दान दिए उनी मुस्लिम यसलेनै बताउने गर्दछ मन्दिर बन्नुमा कत्तिको आत्मीयता र सहिष्णुता छ भन्ने उल्लेख गर्दछ।

यस मन्दिरमा वास्तुशिल्पका अलावा भूकम्प प्रतिरोध मापनको प्रयोग गरिएको छ। परिसर भित्र ३०० भन्दा बढी सेन्सर प्रयोग छ जसले तापमान, भूकम्प दवाव, गतिको मापन गर्ने गर्दछ। यसले गर्दा हरसमय चनाखो र सचेत बनाउने गर्दछ ।

२० हजार टन भन्दाबढी बालुवा, ढुंङ्गा र १८ लाख ईटा प्रयोग र सात राज्यको सात वटा चुचुरा हुनुका साथ यसको लम्बाई २६२ फीट, चौड़ाई १८० फीट र उचाई १०८ फीट रहेछ। जहाँ वरपर ९६ वटा भन्दा बढ़ी घण्टी झुण्डिएको छ।

मन्दिर प्रवेशद्वारमै आठ मूर्तिले सनातम धर्मको आठ मूल्यका प्रतीक देखाउँछ। मन्दिरको 'एम्फीथिएटर' बनारस घाटको आकारसँग मिल्दो जुल्दो छ। कारण भारतीयता हुनुको उपज होला। एम्फीथिएटरमा हिड्दा त्यहाँ दुईतर्फ पानीको धारा देखिन्छ जसको सांकेतिक रूप भारतको नदी गंगा र यमुना मानिन्छ। मन्दिरमा मयूर,हात्ती,चन्द्रमा एवम् घोडा र ऊँट अंकित हुनुले यूएईको प्रतिनिधित्व गरेको आभाष हुन्छ।  मिठो भजन संगीत नेपथ्यमा गुँजिरहन्छ।

यस मन्दिरमा दर्शन गर्न क्यूआर-कोड-मार्फत अपोइंटमेंट बुकिंङ्ग प्रणाली समेत लागू गरेको छ। हामी सोहि अनुरूप साथीहरुसँग पुगेका थियौँ। अन्य मन्दिर जस्ताे यहाँ टीका, फूल कम मात्रामा प्रयोग भएको पाइन्छ। थप जानकारी यसको वेभ साइडमार्फ़त पनि पाउन सकिन्छ। यहाँ ८ देखि १० हजार सम्मले एक साथ दर्शन गर्न सक्दछन्।

यूएईकै दुबईमासमेत सन् २०२२ मा उद्घाटन गरिएको अर्को हिन्दू मन्दिर रहेको छ। ७० हजार वर्ग फुट क्षेत्रफलमा फैलिएको दुबईको जेबेल अलीस्थित एउटा गाउँको रुपमा सबै धर्मावलम्बीहरूकाे आस्था मन्दिर, चर्च, गुरुद्वार, मस्जिद देख्न सकिन्छ। यस मन्दिरलाई बुर दुबईमा साँघुरो भएका कारण जेबेल अलीमा स्थानानतरण गरिएको हो। यो मन्दिर ७५ साल पुरानो शिव मन्दिरलाई मानिन्छ।

१६ भन्दा बढी देवी-देवताको आकृति अंकित मूर्ति रहेको छ र अग्रभागमा अरबी र हिन्दू धार्मिक कलात्मक कुदिएको छ। सेतो सिघमर्मर र टायल्समा जहाँ भगवान शिव, कृष्ण, गणेश, देवी महालक्ष्मीको मूर्ति रहेको छ। साथै दक्षिण भारतीय देवी, देवता गुरुवायूरप्पन, अयप्पनको समेत प्रतिमा राखिएकोले नजिकै प्रार्थना गर्न सहज मिलने गर्दछ।

मन्दिर बन्ने पक्का भएताका केही उग्रवादीहरुले बिरोधसमेत सामाजिक सञ्जालमा प्रकट गरेका थिए। मुस्लिम देशमा हिन्दू मन्दिर बन्दा आफ्नो धर्ममा ह्रास आउने सोचेका थिए भने अन्य हिन्दूहरु खुसी भएका थिए। यहाँ एकैसाथ एक हजार भन्दा बढ़ी भक्तजनले पूजा अर्चना गर्न सक्दछन्।

अन्त्यमा यूएईमा रहेका हिन्दूले मात्र पूजा अर्चना गर्ने मात्र नरही एउटा समुदाय,मानवताको साझा सम्पदाको प्रतिक हो। माथि उल्लेख गरिएको र स्वयं म दुवै मन्दिरमा गई सकेकाले यहाँ कुनै देवी देवताको नाममा मन्दिर नरही समग्र हिन्दू मन्दिर भनेर नामाकरण दिएको पाइन्छ। सायद धार्मिक भेदभाव नहोस् र जोसुकैले पनि दर्शन गर्न सकोस् भन्ने उद्देश्य होला। तसर्थ यी मन्दिरले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षक बनाउनु ,सांस्कृतिक मूल्य मान्यता,आध्यात्मिकता, सहिष्णुता र हिन्दू मुस्लिम या अन्य धर्मावलम्बीबीच आपसी भाईचारा, सद्भाव, संस्कृति, अपनत्व, स्नेह र श्रद्धाको प्रतिनिधित्व समेत गर्ने गरेको छ।

तपाईँको मत