पूर्वाधार

काठमाडाैं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेशन निर्माण सम्पन्न

  • २४ माघ बुधबार, २०८० | १६:०४:०० मा प्रकाशित

काठमाडाैं । काठमाडाैंको मातातीर्थमा २२०/१३२ केभीको सबस्टेशन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी–काठमाडाैं प्रसारण लाइन आयोजनाअन्तर्गत त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको बिजुली काठमाण्डौ उपत्यकामा आपूर्ति गर्न चन्द्रागिरि नगरपालिकको मातातीर्थमा सबस्टेशन बनाएको हो ।

सबस्टेशनबाट देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन सहयोग पुग्ने प्राधिकरणले जनाएको छ । अब काठमाडाैं उपत्यकामा बिजुली आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेशन 'हब' बनेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेशनबाट बिजुली आपूर्ति हुन थालेपछि काठमाडाैं उपत्यकाको बिजुली आपूर्ति थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने बताउनुभयो ।

मर्स्याङ्दी–काठमाडाैं र त्रिशूली–काठमाण्डौ प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एकआपसमा आबद्ध गरी मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सबस्टेशनमा समाहित गरिएको छ ।

यसैगरी प्राधिकरणले चोभारमा एक सय ३२ केभीको सबस्टेशनको निर्माण गरिरहेको छ । मातातीर्थबाट चोभारसम्मको एक सय ३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । चोभारबाट ललितपुरको पाटनसम्म एक सय ३२ केभी भूमिगत प्रसारण लाइन र पाटनमा एक सय ३२ केभी सबस्टेशन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।

तपाईँको मत