खेल

यू–१९ विश्वकप : पहिलाे खेलमा नेपाल न्युजिल्यान्डसँग पराजित, बुधबार पाकिस्तान खेल्ने

काठमाडौं । आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ ।

दक्षिण अफ्रीकाको इस्ट लन्डनस्थित मैदानमा नेपालले ६४ रनको हार बेहोरेको हो । न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३८ रन जोड्यो ।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९० रनको योगदान दिए । कप्तान देव खनालले ३६ रन जोड्दा तल्लोक्रमका सुभाष भण्डारी ३३ र तिलक भण्डारी १७ रनमा नटआउट रहे ।

नेपालको इनिङलाई अघि बढाउन एक्लो योद्धाको रुपमा खेलेका अर्जुन नर्भस नाइन्टिजको शिकार भए । उनी एवाल्ड श्र्वेडरको बलमा टप एज लाग्दै थर्ड म्यानमा क्याच आउट भए । अर्जुनले १ सय ४ बलको सामना गर्दै १२ चौका प्रहार गरे ।

तीव्र गतिका बलर एवाल्ड श्रेडरको ३८ औं ओभरको दोस्रो बलमा अर्जुन थर्डम्यानमा क्याच आउट भएपछि विश्वकपमा शतक हान्ने पहिलो नेपाली खेलाडी बन्नबाट चुकेका थिए ।  बाउन्सर बल थर्डम्यानको माथि सट खेल्ने धुनमा अर्जुन क्याच हुन पुगेका थिए । त्यसअघि अर्जुनले ब्यक्तिगत १४, ८६ रन र ८८ रनमा तीन जीवनदान पाएका थिए ।

तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरेका थिए । देव खनाल ३४ बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा आउट भए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । आकाश त्रिपाठी र गुलशन झा २–२ रनमा आउट भए । उत्तम थापामगर, दीपक बोहरा, दीपेश कँडेलले खाता खोल्न सकेनन् ।

अन्तिम विकेटका लागि तिलकराज भण्डारी र सुवास भण्डारीले ३७ रनको अविजित साझेदारी गरे । सुवास भण्डारी ५२ बलमा ४ चौकासहित ३३ रनमा नट आउट रहे । तिलक भण्डारी १९ बलमा २ चौका र १ छक्कासहित १७ रनमा नट आउट रहे ।

न्युजिल्यान्डका मासन क्लार्कले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । एवाल्ड श्रेडर र ओस्कर ज्याक्सनले २(२ विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो ।

न्युजिल्यान्डको जितमा तेस्रो नम्बरका ब्याटर स्नेहित रेड्डीले १२५ बलमा ११ चौका र ६ छक्कासहित १४७ रनको सानदार अविजित शतकीय इनिङ खेलेका थिए । कप्तान ओस्कर ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रनमा आउट भए ।

एक समय ६७–३ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई ज्याक्सन र रेड्डीले चौथो विकेटका लागि १६४ बलमा १५७ रनको शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी नै नेपालको हारको मुख्य कारण बन्यो ।

यी दुई ब्याटर बाहेक अन्यको प्रदर्शन भने राम्रो हुन सकेन । ओपनर टम जोनसन ४५ बलमा ५ चौकासहित ३३, ल्यूक वासटन १४ र एलेक्स थोमप्सजले १३ रन बनाए । नेपालका प्रमुख बलर गुल्शन झाले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए ।

स्पिनर सुवास भण्डारीले १० ओभरमा ६० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । तिलक भण्डारी, आकाश त्रिपाठी र दीपेश कँडेलले १(१ विकेट लिए ।

नेपालले यसअघि यू१९ विश्वकपमा दुवै खेलमा न्युजिल्यान्डलाई हराएको थियो । २००६ को यू–१९ विश्वकपमा न्युजिल्यान्डलाई १ विकेट र २०१६ मा ३२ रनले हराएको थियो । समूह डी मा रहेको नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत