गाउँ सहर

पञ्चेश्वर जलविद्युत् परियोजनाको ब्रेक थ्रु केही दिनमै हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चेश्वर जलविद्युत् परियोजनाको ब्रेक थ्रु केही दिनमै हुने दाबी गरेका छन् । बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण र केही दिनअघि भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई मजबुत बनाउनका साथै १० हजार मेगावाट विद्युत् भारतले किन्ने सम्झौता लागू भएको बताए । उनले पञ्चेश्वर अन्तिम चरणमा पुगेको र यो परियोजना दुवै देशको राष्ट्रहीतमा रहेको बताए ।

‘‘मेरो भारत भ्रमण र अहिले भारतीय विदेशमन्त्रीको भ्रमणले दुई देशको सम्बन्धलाई मजबुत बनाउने आधार त तय गरेको नै छ । एउटा त १० हजार मेगावाटको यही लागू भयो । अर्को पञ्चेश्वर अन्तिम चरणमा पुगेको छ । डिपिआर फाइनल गर्ने कुरा । हामी सबैलाई थाहा छ । त्यो दुवै देशको राष्ट्रहितमा छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘त्यसलाई अन्तिममा मेरो भारत भ्रमणका क्रममा जो वातावरण बन्यो, त्यो कारणले पञ्चेश्वर अघि बढ्दैछ । मलाई विश्वास छ, आउने केही दिनभित्र पञ्चेश्वरको ब्रेक थ्रु हुन्छ ।’’

साथै प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वर परियोजनाले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पार्ने दाबी गरे ।

भारतसँग भएका सम्झौता खुला राख्न सरकारलाई आपत्ति छैन

प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा भारतसँग भएका सम्झौता खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको बताएका छन्।

भारत सरकारसँग भएको सम्झौता पत्रहरु समिति वा सदनमा खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको जिकिर प्रधानमन्त्रीले गरे । उनले भारतीय दूतावासले सिधै २० करोड खर्च गर्न पाउने प्रकृतिका सम्झौता भारतसँग मात्रै नभई अन्य देशसँग पनि हुँदै आएको दाबी गरे।

प्रधानमन्त्रीले भारतसँगको यो सम्झौता सङ्घीय सरकारको हातमाथि पर्नेगरी गरेको दाबी गरे । उनले भारतीय दूतावासले यसअघि पनि सिधा पाँच करोड खर्च गर्ने गरेको भन्दै अङ्क बढाउने कुराले देशमा कुनै अर्थ नराख्ने बताए।

‘‘यो विषयका पत्रहरु खुला राख्न सरकारलाई कुनै आपत्ति छैन, समितिमा वा फुल हाउस सदनमा पनि । लुकाउनुपर्ने कुनै पत्र छैनन् । सम्झौता पत्र जस्ताको त्यस्तै लिपिबद्ध चाहियो भन्नेकुरामा कुनै आपत्ति छैन । लिपिबद्ध उपलब्ध गराइन्छ । विगतदेखिको सबै प्रचलन भन्दै आउँदा खालि भारतसँग मात्रै होइन, अन्य देशसँग पनि यस्तै प्रकृतिका पनि र अलि भिन्न प्रकृतिका सहमति हुने गरेका छन् ।,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘सङ्घीय सरकारको हात माथि पर्नेगरी गरेका छौँ । अहिले हामीले अलि टाइट गरेका छौँ । यो कुरा अहिले भएको होइन, पाँच करोड लिँदा राष्ट्रहित विपरीत नहुने, २० करोडसम्म लिँदा हुने भन्ने सिद्धान्त हुन सक्दैन । सदनमा यो छलफल हुनेवाला नै छ । त्यसको निर्णय त स्वीकार्नैपर्छ । यो सदनद्वारा पहिले नै अनुमोदित हो ।’’

प्रधानमन्त्री प्रचण्डले भारतसँग २० करोड रुपियाँ सिधै खर्च गर्न पाउने भएको सम्झौता २५ दिनअघि नै मन्त्रिपरिषदबाट निर्णय भइसकेको विषय रहेको बताए ।

उनले भने, ‘‘नयाँ यो सरकारले केही गरेका छैन । अङ्क पहिला तीन करोड थियो, त्यसपछि पाँच करोड भयो र अहिले २० करोड भयो भन्ने अङ्कमा तात्विक रुपमा केही फरक गर्ने कुरा होइन । भारतीय विदेशमन्त्री आउँदा त दुईपक्षीय सम्झौता भयो तर हाम्रो सरकारले २५ दिनअघि नै मन्त्रिपरिषदबाट निर्णय गरेको कुरा हो ।’’

गाउँ सहर संवाददाता

तपाईँको मत