गाउँ सहर

काठमाडाैं महानगरकाे निःशुल्क सीप तालिम लिन ६८ हजार जनाभन्दा धेरैको आवेदन

काठमाडाैं । निःशुल्क सिपमूलक तालिम लिनका लागि काठमाडौँ महानगरपालिकामा अहिलेसम्म ६८ हजार ८६६ जनाको आवेदन प्राप्त भएको छ । यसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिएका हुन् । २०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा १० क्षेत्रका ३० वटा पेशासँग सम्बन्धित निःशुल्क तालिमका लागि ‘सिप मेला’ कार्यक्रमका लागि आवेदन आव्हान गरेको थियो । तालिमका कक्षाहरु वैशाख १९ गतेदेखि निरन्तर चलिरहेका छन् ।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत चालु आर्थिक बर्षमा १५ हजार व्यक्तिलाई निःशुल्क तालिम प्रदान गर्ने, यसरी तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आवद्ध गराउने लक्ष्य छ । 

‘आवेदकले अनलाइनबाट र कागजमा फाराम भरेर आवेदन दिएका छन् ।’ आवेदकहरुको संख्याका विषयमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘यस्ता आवेदकहरुलाई नाम थर, मोवाइल नम्बर, नागरिकता नम्बर, ठेगाना जस्ता सूचकका आधारमा एकजनालाई एउटै मात्र तालिमका लागि छान्छौँ । यसपछि सिप मेलाको तालिममा सहभागी गराउन आवेदन दिएका तर त्यहाँ समावेश गर्न नसकिएका आवेदकलाई ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत सञ्चालन भइरहेका तालिम कार्यक्रममा सहभागी गराउँछौँ । यो तालिम पनि निःशुल्क हो । यसमा १० क्षेत्रका ३५ भन्दा धेरै पेशासँग सम्बन्धित तालिम छन् ।’

झाका अनुसार हरेक वडाबाट १ सय जनालाई सहभागी गराउन फाराम पठाइएको थियो । यसको विवरण अद्यावधिक भइरहेको छ । कार्यक्रम शुभारम्भका दिन (वैशाख १९) टुँडिखेलमा आएका सहभागीहरूको ठुलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गरेपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो । त्यो एक दिनमा ४ हजार १८२ जनाले फाराम भरे । त्यसदिनभन्दा अगाडि ७ हजार ३८२ जनाको आवेदन प्राप्त भइसकेको थियो । वैशाख २० गतेदेखि ३० गतेसम्म दिइएको फाराम भर्ने अवसरमा १४ हजार ३ सय जनाले फाराम भरे । यस्तै अनलाइनबाट १३ हजार ९९४ जनाको आवेदन प्राप्त भएको छ । 

यससँगै समय समयमा विभिन्न पेशा (जुत्ता बनाउने, डकर्मी, मालीलगायत) सँग सम्बन्धित तालिमका लागि गरिएको आव्हानका क्रममा ५ हजार ६८९ जनाले आवेदन दिएका छन् । 

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २६४ जनाले आवेदन दिएका छन् । यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आव्हान गरिएको फाराममा ८ हजार ८८५ जनाले आवेदन दिए । जसमध्ये ६ हजार ६९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिएका थिए । बाँकीले अन्य विभिन्न विषयका आवेदन दिएका थिए । 

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । 

सिप मेलाको अन्तिम २ दिन रोजगार मेला हुनेछ । यस दिन रोजगारदाताहरू स्टलमा रहनेछन् । सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरू सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउँनेछन् । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्नेछन् । रोजगारदाताले सिपयुक्त जनशक्ति प्राप्त गर्नेछन् ।
सिप मेलामा को-को आउनुभयो?

सोमबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रशिक्षण चलिरहेको ठाउँमा गएर सिकाइ विधि निरीक्षण गरे । त्यस क्रममा रहेका सिप मेला निर्देशक समितिका सदस्य सुदीप ढकालले तालिमको लक्ष्यका नीतिसँग सम्बन्धित विषयमा र रोजगार संयोजक देवेन्द्र के. सी. ले प्रशिक्षण कक्षाहरुका विषयमा जानकारी गराएका थिए । 

त्यस क्रममा प्रमुख शाहले, वेल्डिङ् सिप सिकिरहेको प्रशिक्षार्थीहरुसँग फलामको जोडाइका बारेमा प्रशिक्षकसँग पेशागत सुरक्षा सिकाइका बारेमा प्रश्न गरेका थिए । यस्तै डकर्मी तालिम लिइरहेकोहरुसँग प्लाष्टरका विधि, गारो बनाउने विधि र जोडाइलगायत विषयमा सिकेका सिपका बारेमा प्रश्न गरेका थिए । 

सिप मेलामा संघीय सरकारका श्रम र रोजगारसँग सम्बन्धित मन्त्रालय र विभाग, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरु, निजी, गैरसरकारी तथा वाणिज्य क्षेत्रमा पदाधिकारीहरुले अवलोकन गरिरहेका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत