गाउँ सहर

महासचिव गुटेरेसले भने : नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघले सहयोग गर्छ

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले  अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको बताएका छन्। 

नेपाल भ्रमणमा रहेका गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्न तयार रहेको बताए। 

संयुक्त राष्ट्रसंघ नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न तयार गुटेरेसको भनाइ थियो। 

महासचिव गुटेरेससँग आज आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको औपचारिक भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार तथा सहजीकरण गर्न यो भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उक्त छलफल नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट स्तरोन्नति र दिगो विकासलगायतका विषयमा केन्द्रित भएको प्रधानमन्त्री दाहालले बताए ।

“निकै सौहार्दपूर्ण वातावरणमा दुईपक्षीय हितका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा विश्वासका साथ हामीले छलफल गर्‍यौँ । मुख्यरुपमा जलवायु परिवर्तनको विषयमा गम्भीर रुपमा चर्चा भयो”, प्रधानमन्त्री दाहालले भने, “नेपालमा जलवायु परिवर्तनका नकारात्मक असरको न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायमा संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतले उहाँले खेल्नुभएको भूमिकाको उच्च प्रशंसा गर्‍यौँ ।” जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आगामी दिनमा राष्ट्रसङ्घलगायत द्विपक्षीय तथा बहुपक्षीप अन्तर्राष्ट्रिय निकायबाट सहयोगको अपेक्षा गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।

त्यस्तै, नेपालको शान्ति प्रक्रिया चाँडै टुङ्गिने विश्वास पनि प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे । “अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउनका लागि अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतले उहाँको महत्त्वपूर्ण भूमिका रहने विश्वास हामीले लिएका छौँ”, उनले भने ।

नेपालको आर्थिक विकास र समृद्धिका बारेमा पनि छलफल भएको प्रधानमन्त्री दाहालले बताउनुभयो । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकाले यो प्रक्रिया सहज बनाउन तथा तोकिएको समयमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न पनि प्रधानमन्त्री दाहालले राष्ट्रसङ्घ महासचिव गुटेरेससँग आग्रह गर्नुभयो ।

“असाध्यै सकारात्मक छलफल भएको छ । यहाँको राजनीतिक उतारचढाव र शान्ति प्रक्रियाबारे उहाँलाई राम्रो थाहा छ । मौसम परिवर्तनका असरबारे पनि छलफल भयो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “विश्व शान्ति निर्माणका लागि नेपालको शान्ति सेनाले खेलेको भूमिकाको पनि उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो । हामीले पनि हाम्रो योगदानको सम्मान होस् भन्ने विषय राख्यौँ ।”

राष्ट्रसङ्घका महासचिव गुटेरेसले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि औपचारिक भेटवार्ता गर्नुभएको थियो । 

गाउँ सहर संवाददाता

तपाईँको मत