गाउँ सहर

माेटरसाइकललाई ठक्कर दिएर भाग्दा इलेक्ट्रिक गाडी दुर्घटना, एककाे मृत्यु

काभ्रे । काभ्रेमा भएको इलेक्ट्रिक गाडी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । काभ्रेको पनौती नगरपालिका वडा नं ५ स्थित सुन्दर बस्तीमा दुर्घटना हुँदा मन्थली नगरपालिका वडा नं ११ की २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएकाे हाे ।

काठमाडौंबाट पूर्व इलामतर्फ जाँदै गरेको बा ६५ प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बा–प्र– ०३– ००१– ज०२९८ नं को इलेक्ट्रिक गाडीले ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा इलेक्ट्रिक गाडी सोही स्थानको सडकको किनारको नालीमा खसेर दुर्घटना हुँदा गाडी सवार ७ जना र मोटरसाइकलमा सवार २ जना गरी ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा घाइते ९ जनालाई उपचारका लागि जिल्ला स्थित धुलिखेल अस्पतालमा लगिएको थियो । घाइतेमध्ये गाडीमा सवारमध्ये बुढाथोकीकाे उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, गाडीमा सवार रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ की २३ वर्षीया पुष्पा तामाङ, लिखु तामाकोसी गाउँपालिका वडा नं ६ बस्ने ५१ वर्षीय टंक प्रसाद दाहाल, रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं २ की ३० वर्षीया ज्ञानु ढुंगेल, मन्थली नगरपालिका वडा नं १ का १८ वर्षीय रकिट ढुंगेल, लिखुतामाकोशी गाउँपालिका वडा नं ६ का ३८ वर्षीय अनिल आलेमगर, सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका वडा नं ३ का ३१ वर्षीया उर्मिला घिमिरे, मोटरसाइकलमा सवार इलाम जिल्लाको थाकथुम गाउँपालिका वडा नं ३ का ४० वर्षीय राम कुमार राई र उनकी श्रीमती ३९ बर्सिया प्रविशा सुनुवार घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । ।

इलेक्ट्रिक गाडीका सवारी चालक पनौती नगरपालिका वडा नं ५ का ४१ वर्षीय उपेन्द्र थापालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत