विश्व

भारतमा हिमताल फुटेर आएको भीषण बाढीमा परी १० जनाकाे मृत्यु, ८२ जना अझै बेपत्ता

  • १८ असोज बिहीबार, २०८० | १३:३०:०० मा प्रकाशित

गुवाहाटी । भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मर्नेको सङ्ख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेको अधिकारीहरूले बताएका छन् ।

“बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुलहरू बगाएर विनाश गरेको छ”, उत्तरपूर्वी सिक्किमको पहाडी उपत्यकामा हिमताल फुटेको भोलिपल्ट बिहीबार भारतीय सेनाका प्रवक्ता हिमांशु तिवारीले भने ।

अधिकारीहरूका अनुसार बाढीले सडकहरू गम्भीररूपमा क्षतिग्रस्त भएका छन् भने १४ वटा पुल बगाएको छ । अहिलेसम्म १० वटा शव फेला परेको छ र सैनिक कर्मचारीसहित ८२ जना हराइरहेका छन्”, सिक्किम राज्यका मुख्यसचिव विजय भूषण पाठकले भने ।

हराइरहेकामध्ये २२ जना सैनिक कर्मचारी रहेको भारतीय सेनाले जनाएको छ । एक सैनिकको उद्धार गरिएको थियो । विश्वको तेस्रो सबैभन्दा अग्लो शिखर कञ्चनजङ्घामा रहेको हिमनदीको फेदमा अवस्थित ल्होनाक ताल फुट्दा पानीको बहाव बढेको हो । विश्वव्यापी तापक्रम बढ्दै जाँदा हिउँ पग्लिएर हिमनदीबाट विनाशकारी बाढी आउने क्रम बढ्दै गएको छ । -एएफपी

तपाईँको मत