खेल

माल्दिभ्सविरूद्ध नेपालकाे सानदार जीत, क्वाटरफाइनलमा प्रवेश

काठमाडाैं । नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्समाथि १ सय ३८ रनको सानदार जित निकाल्दै क्वाटरफाइनलमा पुगेको छ । नेपाल समूह ए बाट अपराजित रहँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

तीव्र गतिका बलर अभिनाश बोहराको कीर्तिमानी ६ विकेटसँगै नेपालले सहजै जीत हासिल गरेकाे हाे ।

जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अल आउट भयो । माल्दिभ्सका घानी अब्दुलले ३४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए ।

नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको चौथो बलमै माल्दिभ्सका ओपनर राफीज अजिन मोहम्मदलाई शून्यमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए ।
फरिद शिउस २१ बलमा २ चोकासहित १० रनमा आउट भए । उनी अभिनाश बोहराको छैटौं ओभरको तेस्रो बलमा बलमा कुशल भुर्तेलबाट समातिन पुगेका थिए । अभिनाशले नै चौथो बलमा बदिउ इस्माल नजावानलाई शून्यमा एलबीडब्लू आउट गरे । अन्तिम बलमा अभिनाशले थोलाल मोहम्मद रियानलाई शून्यमा एलबीडब्लू आउट गरे । सातौं ओभरको पहिलो बलमा गुलशन झाले ओपनर अली इस्माइललाई ३ रनमा क्याच गराउँदै सहज जितको आधार तय गरेका थिए ।

नेपालको जितमा अभिनाश बोहराले ३.४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिए । अन्तर्राष्ट्रिय करिअरमा उनले पहिलो पटक पाँच विकेट लिएका हुन् । उनी टि२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर हुन् । यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५/५ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले ।

पहिलो खेलमा मंगोलियाविरुद्ध विश्व कीर्तिमानी शतक हानेका युवा बायाँ हाते अलराउन्डर कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे । कुशललाई नेपालले आज सातौं नम्बरमा खेलाएको थियो । नेपालले आज अन्य खेलाडीलाई मौका दिएको थियो ।

दीपेन्द्र ६ रनमा आउट हुँदा सोमपाल कामी एक बलमा एक रन बनाए । ओपनर आसिफ शेख ६ रनमै आउट भए । अर्का ओपनर कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भएका थिए ।

एक वर्षपछि नेपाली टोलीमा खेल्ने मौका पाएका विकेटकिपर विनोद भण्डारीले १५ बलमा १ चौकासहित १३ रनमा आउट भए । सन्दीप जोरा ९ बल खेल्दै ५ रनमा क्याच आउट भएका थिए ।

पाँचौं विकेटका लागि गुलशन झा र रोहित पौडेलले ७० रनको साझेदारी गरेका थिए । गुलशन २१ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए । माल्दिभ्सका बदिउ इस्माइल नाजवानले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । नेपालले पहिलो खेलमा मंगोसियालाई २सय ७३ रनले हराएको थियो । नेपाल समूह ए को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ ।

क्वाटरफाइनलमा पाँच टेस्ट टोली भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले सोझै मौका पाएको थिए । समूह सी बाट मलेसिया क्वाटरफाइनलमा आएको छ । समूह बी बाट आज जापान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेता टोली क्वाटरफाइनलमा आउनेछ ।

क्वाटरफाइनलको ड्र सोमबार हुनेछ । क्वाटरफाइनलका खेलहरु मंगलबार र बुधबार हुनेछन् । शुक्रबार सेमिफाइनल र फाइनल शनिबार हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत