गाउँ सहर

खगोलीय अध्ययन अनुसन्धानका लागि पोखराको संस्कृत क्याम्पसमा बन्यो गोल

  • ११ असोज बिहीबार, २०८० | २०:४४:०० मा प्रकाशित

पोखरा । नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस विन्दुवासिनी संस्कृत विद्यापीठ (क्याम्पस) पोखरामा ज्योतिष विषयको प्रयोगात्मक अध्ययनका लागि गोल निर्माण गरिएको छ ।

विद्यापीठका पूर्व प्राचार्य सहप्रा अम्बिकाप्रसाद भट्टराईको संयोजन एवम् ज्योतिष विषयका विभागीय प्रमुख एवम् पूर्व प्राचार्य प्रा.श्रीराम बराल र सहप्रा पूर्णचन्द्र वाग्लेको सैद्धान्तिक एवम् प्राविधिक सहयोगमा गोल निर्माण गरिएको हो । विभिन्न व्यक्तिको सहयोगमा करिब ५० हजार रुपैयाँको लागतमा गोल निर्माण गरिएको आज  आयोजित कार्यक्रममा सहप्रा भट्टराईले जानकारी दिए ।

ज्योतिष शास्त्रमा ग्रहको अवस्था आदिलाई कक्षा कोठामा सैद्धान्तिक रुपमा मात्र पढाएर बुझाउन नसकिने वास्तविकतामा विद्यार्थीलाई गोल भित्रै राखेर खगोलीय अध्ययन गराउन यसको निर्माण अपरिहार्य ठानिएको सहप्रा पूर्णचन्द्र वाग्लेले वताए ।

नेपाल संस्कृत विश्वविद्यालयका विभिन्न विद्यापीठहरूमा ज्योतिष विषयको अध्ययन अध्यापन गर्दै आइए पनि कुनै पनि विद्यापीठमा गोल निर्माण गरी हालसम्म प्रयोगात्मक अध्ययन अध्यापन हुन नसकेको वास्तविकतामा पोखरामा गोल निर्माण गरिनु आँफैंमा महत्वपूर्ण रहेको ज्योतिष विषयका विभागीय प्रमुख एवम् पूर्व प्राचार्य प्रा.श्रीराम बरालले बताए । ज्योतिष आँफैंमा विज्ञानमा आधारित विषय भएको बताउँदै उनले यसको महत्वलाई राम्रोसँग उजागर गर्न नसकिएको बताए ।

गोल निर्माणले ज्योतिष विषयको सैद्धान्तिक अध्ययन एवम् प्रयोगात्मक अध्ययनका लागि सहयोग पुग्ने प्राचार्य प्रा.डा. जगन्नाथ रेग्मीकाे भनाइ रहेको छ। यसको निर्माणले ज्योतिष विषयका अध्येतासँगै भुगोल, विज्ञान जस्ता विभिन्न विषयका अनुसन्धाताका लागि पनि उत्तिकै महत्वपूर्ण बन्ने विश्वास लिइएको उनले वताए।

कार्यक्रमकै अवसरमा सहप्रा पूर्णचन्द्र वाग्लेले “ अयन चलन र यसको प्रभावः शास्त्रीय र आधुनिक मान्यता ” विषयक अवधारणापत्र प्रस्तुत गरे । अयन चलनको कारणबाट वसन्त आदि ऋतुमा भएको परिवर्तन अनुसार सौरमान वा ऋतुजन्य चाडपर्व आदिको सुधारका पक्षमा शास्त्रीय धारणलाई अघि बढाउनु उपयुक्त हुने बताए । 

तपाईँको मत