विश्व

इराकमा वैवाहिक समारोहमा आगलागी हुँदा सय जनाभन्दा बढिकाे मृत्यु

  • १० असोज बुधबार, २०८० | ०९:५०:०० मा प्रकाशित

इराकमा एउटा वैवाहिक समारोह भइरहेको भवनमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु भएको र १५० जना घाइते भएको इराकको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा बेहुला र बेहुली पनि छन्।

इराकको उत्तरी निनेभ प्रान्तको अल-हम्दानिया जिल्लामा मङ्गलवार राति अबेर उक्त घटना भएको थियो।

आगलागीको कारण खुलिसकेको छैन। विवाहको अवसरमा आतसबाजी गर्दा आगो फैलिएको प्रारम्भिक विवरणहरूमा उल्लेख छ।

उक्त भवन बनाउन प्रयोग गरिएका सामग्री प्रज्जवलनशील भएकाले आगो सजिलै फैलिएको हुनसक्ने अनुमान गरिएको छ। आगो लागेपछि हलको छतको केही भाग नै खसेको छ।

समाचारसंस्था रोएटर्सका अनुसार स्थानीय समयानुसार राति करिब पौने ११ बजे आगलागी हुँदा सयौँ मानिसहरू उक्त वैवाहिक समारोहमा उत्सव मनाइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

घाइतेहरूलाई निनेभ क्षेत्रका अस्पतालहरूमा पुर्‍याइएको उक्त क्षेत्रका गभर्नरले बताएका छन्।

उनले कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने निर्क्योल नभएको र त्यो सङ्ख्या बढ्न सक्ने बताएका छन्।

तपाईँको मत