गाउँ सहर

आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको छ । स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि  चलेको बैठक सहमति पत्रमा हस्ताक्षर गर्दै टुंगिएको हो ।  

हेटौंडाको सन्चो अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्नेलाई  स्वास्थ्यकर्मी सुरक्षा ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने विषयमा सरकारी वार्ता टोली र आन्दोलनरत चिकित्सकबीच बुँदागत सहमति भएको हो।

भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो।

चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले आइतबार आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि सरकारले सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो।

वार्तामा सरकारले चिकित्सकलाई हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार कारबाही अघि बढाउने र प्रतिवद्धता जनाएको छ ।

यस्तो छ सहमति
१. २०८०/०५/२७ गतेका दिन सन्यो अस्पताल, हेटौंडामा ड्युटीमा रहेका चिकित्सकहरु डा विकास थापा र डा प्रशान्त बिडारी माथि भएको सांघातिक आक्रमणमा संलग्न भएका दोषीहरुलाई गृह मन्त्रालय मार्फत सम्बन्धित निकायले तत्काल पक्राउ गरि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन २०७९) बमोजिम कारबाही गर्ने साथै पक्राउ परेका ४ जना पक्राउ पूर्जी जारी भएका ५ जना सहित अन्य दोषीहरुलाई सोही ऐन बमोजिम कार्बाही प्रक्रिया अगाडी बढाउने।

२. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को प्रभावकारी कार्यान्वयनको लागि नेपाल सरकारका सरोकारवाला निकायहरु प्रतिबद्ध रहने । ३. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को दफा ५ बमोजिमको "स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति" लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय बनाउन मासिक रूपमा बैठक बस्ने व्यवस्था मिलाउने।

४. “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) कार्यान्वयनका लागि सरोकारवालाहरुलाई स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई मनन गरी सोहि अनुरुप सचेतनामुलक कार्यक्रमहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघसंगको सहकार्यमा यसै आर्थिक वर्ष देखि संचालन गर्ने।

५. चिकित्सकहरुको सेवा सुबिधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने।

६. स्वास्थ्य जस्तो अत्यावश्यक सेवालाई मर्यादित संवेदनशील बनाई सेवा प्रति प्रतिबद्ध रहदै २०८० भाद्र ३१ गते आइतवार नेपाल चिकित्सक संघको अगुवाईमा भएको देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजि अस्पताल तथा क्लिनिकहरु बन्द लगायतका घोषित सम्पूर्ण कार्यक्रम स्थगित गर्ने।

गाउँ सहर संवाददाता

तपाईँको मत