ब्लग

नियत; खराब प्रवृत्ति वा बेढङगी निरूपणको दर्शन

सिद्धान्तप्रति निष्ठावान र आम लक्ष्य-उद्देश्यप्रति प्रतिबद्धहरुले सही समयमा उचित कदम चाल्न नसकेमा परिवर्तनको अभिलाषामा जोडिने र जोड्ने कार्य अनि मेहनत अन्ततः परिणामविहिन र निकम्मा सावित हुनेछन् ।

यस्तो परिस्थितिको अन्तिम प्रायः तस्वीर छरपष्ट हुन नदिन र परिस्थितिलाई सम्हाल्दै परिपक्वता र विश्वसनीयता स्थापित गर्दै जान समयसापेक्ष आन्तरिक शुद्धीकरण-सुदृढीकरणको कार्यनीति बनाउने गरिन्छ । तर कार्यनीतिको कार्यान्वयनका लागि सही कार्ययोजनासहित इमान्दार र शसक्त ढङ्गले अगाडि बढ्न आनाकानी गर्ने हो भने चिन्ता-चासो मिश्रित मेहनत, अमूल्य समयको खपत वा लगानी बालुवामा पानी खन्याए सरह हुनेछ ।

लोकतान्त्रिक पद्दतिबाट नै समाज र देशको हरेक क्षेत्रको आमूल परिवर्तनको महान लक्ष्य तय गर्ने व्यक्ति, समाज, समूह वा दल समेतले यस्तो परिस्थितिबाट मुक्त भई हिम्मतका साथ एकमत भएर अगाडि बढ्न सक्नु असली परिवर्तनकामीहरूको जिम्मेवारपूर्ण कार्यभार हो । यस प्रकारको कार्यभार आफूले सहजै आत्मसात् गरी थेग्ने हैसियत राख्ने, आम शुभचिन्तक समेतलाई परिवर्तनकारी र विश्वसनीय कार्यभार सुम्पन सक्ने दूरदृष्टी निर्माण गर्ने एवं कायम गर्ने खुबी नै उपरी संचनाको दक्षता हो । अन्यथा (उपरी संसपनामा खुबीहिनताको अवस्था यथावत भइरहेपछि) विभिन्न बहाना र त्यसको ढाकछोपका नानाथरी आवरण बनाइन्छ, बनीरहन्छ । जुन कुरा "लाटो देशमा गांडो तन्नेरी" हुने अवस्था जस्तै हो । अर्थात फगत झुट... अनि आडम्बर... I

आशातित र आवश्यक दक्षताविहिन गनथन फगत बकबास हो । आवेगपूर्ण शब्दहरूको थुप्रो हो । दिउँसै रात पार्ने "टपरटुइया" चाला हो । अर्थात कतैबाट निर्देशित वा दवाबमा अभिव्यक्त "घर न घाटको- इन्तु न चिन्तु" को अवस्था हो ।

ढङ्ग नपुगेका चालले लडाउँछ । लडेपछि घाउचोट लाग्ने मात्र होइन लङ्गडो बनाउनुको अलावा मृत्युवरण गर्नुपर्ने (अवसान हुने/अस्तित्वविहिनताको अवस्था) तहसम्म पुरयाउँछ ।
नयाँ नयाँ आवरणमा देखापर्ने यस्ता बेढङ्गी चरित्र, त्यस्तो प्रवृत्तिले युक्त पूर्वाग्रही साथै आवेगपूर्ण मुढे पेलानले परम्परावादी (शक्ति/पक्ष) लाई बलशाली बनाउन नै टेवा पुरयाउने हो । त्यो भन्दा अझै अगाडि "आफू भलो जगतै भलो" भन्ने आहान जस्तै आत्मकेन्द्रित, निहित स्वार्थ केन्द्रित र संकीर्णतामा रूपान्तरित हुँदै समग्र परिवर्तनको इच्छा-चाहना र आवश्यक्ताको मतलाई चरम भाँडभैलो साथै अवसानको अवस्थामा विसर्जन गर्ने नै हो ।

यो खालको नियतले निश्रित प्रवृत्तिको सार भनेको त्यस प्रवृत्तिका कारणबाट आन्तरिक र आमूल परिवर्तन विरोधी गन्ध र ध्वांस सीमित परिधिभित्र छरपस्ट भएर छिटै नै सतहमा आउनु हो ।

यस्तो प्रवृत्ति बारेमा बेलैमा उचित सचेतता अपनाउनुको सट्टा ठनासेर मात्र बस्ने कथित परिवर्तनका पक्षधर समाजले जब थाहा पाएको महशुस हुनेछ परिवर्तनकारी समाज र चेतनाले बेलगामको लयमा तितरवितर भइसक्दछ । त्यसपछिको अवस्था भनेको विशेष हण्डर ठक्कर एवं अकल्पनीय क्षति ब्यहोरेर अन्ततः लखतरान अवस्थामा बाध्यकारी भई मुर्दा शान्ति झैँ रहनु नै हो । जुन अवस्था केवल व्यक्ति बाँच्ने बाध्यता वा स्वार्थसंग मात्र समीप र अन्योन्याश्रित हुन्छा।

त्यतिबेला आशा भरोसा, चाहना, आकांक्षा र आवश्यक्ताका पक्षबाट प्रेरित समाजको स्वतःस्फूर्त असीमित लगानीको परिणाम के होला त ?

निहित स्वार्थ केन्द्रित प्रवृत्तिले युक्तहरूका हकमा त आत्मरतिको रजगज हावी होला/गराईएला । तर जिज्ञासा जरूर उठ्छ - "सचेतहरूलाई संसारका वा स्वदेशका विभिन्न कालखण्डका विभिन्न अभियान - आन्दोलन वा परिवर्तनको लडाईको सकारात्मक वा नकारात्मक परिणाम बारे कत्ति पनि हेक्का छैन त ?"

मानौं, त्यस खालको हेक्का रहेछ रे । त्यसो हो भने अविश्वसनीय सावित भइसकेका सोंच र कार्यदिशालाई अवस्था अनुसार सच्चाएर अगाडि बढ्ने एकमतको प्रयास र इच्छाशक्ति प्रकट हुन्छ कि हुँदैन ? त्यस्तो इच्छा शक्तिले ओतप्रोत सचेत र निर्णायक कदम चाल्न सकिने अवस्थाको निर्माणमा योगदान हुन्छ कि हुँदैन ? योगदान हुन्छ भने कुन रंगको ? कुन हैसियतको ?

खराब प्रवृत्ति र खराब परिस्थितिलाई निस्तेज गरी अगाडि बढ्नको लागि कम्तिमा सामूहिक ठोस बुझाई हुँदै ठोस कदमका लागि ठोस संकल्प, ठोस समर्पणको तहसम्मको एकमतको योगदान अति आवश्यक पक्ष हो । विचार र लक्ष्य सही छ भन्ने दावी नै अडिग रुपमा छ भने आन्तरिक वा बाह्य समस्या र चुनौति (अवसर समेत रहने अवस्था) को सही निर्क्योल र संश्लेषण गरी त्यसै निर्क्योललाई "आवश्यकीय आवश्यक्ता" मान्नु नै ठीक निष्कर्ष हुन्छ ।

अब त्यस्तो "आवश्यकीय आवश्यक्ता" को सम्बोधन गर्ने कार्ययोजनाले मात्र समस्याहरूको निराकरण गर्नुका साथै शुद्धीकरणको तहसम्म पुरयाउने हो ।

शुद्धीकरणका लागि त्यही तहको योगदानको आवश्यक्ता हुनुका साथै सबैको प्रतिबद्धता सहितको रचनात्मक कृयाशिलता अपरिहार्य छ । यो तहको बुझाई, त्यस बुझाइले सृजित मनोविज्ञान र त्यस्तो सृजनशिल र फराकिलो मनोविज्ञानको जग बनाएर कोरिने मार्गचित्र, त्यस मार्गचित्रको माग अनुसारको कृयाशिलता, कुशल र सरल व्यवस्थापनको समष्टी (कार्यकुशलता) नै विद्यमान/जकडिएको कमीकमजोरी सच्चाउदै अगाडि बढ्ने बढाउने एवं लाखौ करोडौं जनताको पक्षमा विश्वसनीय नेतृत्व/नेतृत्वकारी समूह/पंक्ति स्थापित गर्ने उपाय/विधि दुवै हो । जुन प्रकृया अवलम्बन गरेर अगाडि बढ्दा समाज र देशका लागि दीर्घकालिन अभिभावक पनि हुने मौका समेत प्राप्त हुनेछ, जुन मौका शायदैलाई मात्र प्राप्त हुन्छ ।

महान र अद्वितिय इतिहासको नै सुनौलो अक्षरमा लिपीवद्ध हुने हो । (लेखक राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव हुन् ।) 

 

तपाईँको मत