गाउँ सहर

नागपञ्चमी नेपाल सर्प महोत्सव : सर्पले टोके के गर्ने, के नगर्ने ?

  • ४ भदौ सोमबार, २०८० | ०९:१६:०० मा प्रकाशित

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नेपालमा नै पहिलो पटक ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ । नागपञ्चमीको अवसर पारेर मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ दुई दिने नेपाल सर्प महोत्सव सञ्चालन गरिएको हो ।

नेपाल टक्सिनोलोजी सङ्घको आयोजना तथा जिल्ला डिभिजन वन कार्यालय नवलपुर, स्वास्थ्य कार्यालय नवलपुर, नेपाल रेडक्रस सोसाइटी र मध्यविन्दु बहुमुखी क्याम्पसको सहआयोजनामा नेपालमा नै पहिलोपटक सर्प महोत्सव सञ्चालन गरिएको सर्प संरक्षणकर्मी कमल देवकोटाले बताए । “सर्पका बारेमा जनमानसमा धेरै किसिमका भ्रम रहेको र कतिपय अवस्थामा सर्प र सर्पको टोकाइबारेमा सामान्य ज्ञान पनि नहुँदा धेरैले ज्यान गुमाउनुपरेकाले यसबारे जानकारी दिन महोत्सव आयोजना गरिएको हो”, उनले भने

महोत्सवमा सर्प, सर्पदंश र सर्प संरक्षणका बारेमा जानकारी दिने विभिन्न स्टल राखिएको छ । नेपालमा कति प्रकारका सर्प छन्, कति विषालु हुन्छन् भनेर छुट्टाउने र सर्पले टोकिहालेमा के गर्ने, के नगर्ने भन्नेबारेमा पनि जानकारी दिइने उनले बताए ।

विशेषगरी गर्मीयाममा तराई भेगमा सर्पदंशका बिरामी बढ्ने र समयमा उपचार नपाउँदा मृत्यु हुने गरेको छ । “सर्पले पनि पृथ्वीमा मानिसको जत्तिकै महत्व बोकेको हुन्छ, किन भने सर्प पनि पारिस्थितिक पद्धतिको एउटा अङ्ग हो”, उनले भने, “आफू पनि बचौँ र प्रकृतिलाई जोगाऔँ भन्ने हेतुले जनचेतना जगाउन नेपाल सर्प महोत्सवको आयोजना गरिएको हो ।”

महोत्सवमा सर्प पहिचान कसरी गर्ने, सर्पबाट कसरी बच्ने उसलाई कसरी बचाउने र टोकी हाले के गर्नै भन्नेबारेमा महोत्सवमा प्रदर्शन गरिएको छ । विभिन्न सर्पका नाम उल्लेख गरी पोस्टर र तिनका विशेषताका बारेमा स्थानीय सहभागी, विद्यार्थीलगायतका लाई जानकारी गराइएको संरक्षणकर्मी देवकोटाले जानकारी दिए ।

सर्पले मानिसलाई टोक्ने भनेको आफ्नो बचाउका लागि गर्ने प्रतिरक्षा आक्रमण मात्रै हो । नेपालका विषालु सर्प इलापिडी, भाइपिरिडी र कोलुब्रिडी परिवारअन्तर्गत पर्ने स्नेक बाइट म्यानेजमेन्टका फोकलपर्सन डा छविलाल थापाले बताउनुभयो  । “इलापिडी परिवारअन्तर्गत पनि धेरै विषालु सर्पजस्तै, गोमन, करेत र कोरल सर्प पर्छन्”, उनले भने, “२० प्रतिशत सर्पमा मात्र विष हुन्छ, ८० प्रतिशत सर्प विषरहित हुन्छन्, सर्पले टोक्दैमा आत्तिनुहुँदैन ।”

समयमा उपचार नपाएका कारण सर्पको टोकाइबाट मृत्यु हुने तथ्याङ्क पनि बढ्दो रहेको छ । सर्पका बारेमा जनमानसमा धेरै किसिमका भ्रम रहेको र कतिपय अवस्थामा सर्प र सर्पको टोकाइबारेमा सामान्य ज्ञान पनि नहुँदा धेरैले ज्यान गुमाउनुपरेकाले यसबारे जानकारी दिन महोत्सव आयोजना गरिएको डा।छविलाल थापाले बताए ।

“नवलरपासी (बर्दघाट सुस्तापूर्व)मा यो वर्षमा मात्र विषालु सर्पले टोकेका १२ महिला र १५ पुरुष गरी २७ जना उपचारमा आएको तथ्याङ्क छ”, उनले भने, “आर्थिक वर्ष २०७९÷०८० मा जिल्लामा सामान्य सर्पले टोकेका एक सय ८५ पुरुष र एक सय ७७ महिला गरी तीन सय ७२ सङ्ख्या रहेको छ । ”

पहिला गाउँघरमा देखिने सर्प पहिचान गर्न गाह्रो हुने गरेको भए पनि सर्प महोत्सव अवलोक गरेपछि चिन्न सक्ने भएको महोत्सवमा सहभागी विद्यार्थी मुकेश रानाले बताए । “पहिला मैले रङ हेरेर मात्रै सर्प पहिचान गर्थें, अहिले छाला हेरेर सर्प पहिचान गर्नसक्ने भएको छु”उनले भने, “सर्पले डस्दा के गर्ने, सर्पको व्यवस्थापन कसरी गर्ने भन्नेबारे पनि ज्ञान हासिल गरिसकेको छु ।”

तराईका २६ जिल्लालाई सर्पको उच्च जोखिम जिल्लाका रूपमा लिइन्छ । यी जिल्लामा विशेषगरी विष भएका करेट र गोमन (कोब्रा) सर्प पाइन्छन् । सर्पको टोकाइबाट बर्सेनि ६–७ हजार नेपालीले ज्यान गुमाउने गरेको तथ्यांक छ । सर्प विशेष गरी वैशाखदेखि असोजसम्म बाहिर निस्कने गर्दछन् ।

करेट सर्पले सुतेको मान्छेलाई ओछ्यानमा गएर टोक्छ । सफासुग्घर ठाउँमा बस्न रुचाउने यो सर्प बेलुकीपख ओछ्यानमा गएर बस्छ र सुत्न गएको व्यक्तिलाई टोक्छ । तर, गोमन सर्प साँझ पर्ने वेला तथा बिहानीपखको समयमा बाहिर निस्किन्छ र मान्छेलाई टोक्छ । यो सर्प दिउँसो पानी खान निस्कने भएकाले मान्छेले जिस्क्याएमा टोक्ने गर्छ । 

सर्पले टोकेमा के गर्ने ? 
- सर्पले टोक्नेबित्तिकै शरीरको अन्य भागमा सर्न नदिन टोकेको ठाउँभन्दा अलिकति माथि काम्रोले बाँध्नुपर्छ । हिँडडुल गर्दा विष शरीरका अन्य भागमा छिटो सर्ने भएकाले हिँडडुल गर्ने, दौडने गर्नुहुँदैन । 

- छिटो अस्पताल पुग्ने नाममा आफैँले मोटरसाइकल पनि चलाउनुहुँदैन । यदि सर्पले टोकेमा अरूलाई मोटरसाइकल चलाउन लगाउनुपर्छ । 

- सर्पले टोकेको आशंका लागेमा पानी पिउनु र पिलाउनु हुँदैन । पानी पिउँदा पानीको सहायतामा विष शरीरका विभिन्न भागमा छिटो पुग्छ र रिकभर हुन समस्या आउने अत्यधिक खतरा रहन्छ ।

असर 
विषालु सर्पले टोकेर विष छोडे मात्र मान्छेलाई विष लाग्छ । विष लागेमा कमजोरी महसुस हुने, मुख खोल्न नसक्ने, जिब्रो निकाल्न नसक्ने, पानी या अन्य खानेकुरा निल्न गाह्रो हुने, आँखा खोल्न नसक्नेजस्ता लक्षण देखिन्छ । यस्ता लक्षण देखिए सर्पले टोकेको अनुमान गरी जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ । 

करेट सर्पले टोकेमा विष ढिलो गरी लाग्छ र शरीरमा पनि ढिलो गरी फैलिन्छ । यो सर्पले टोक्दा मानिसलाई सपनाजस्तो लाग्न सक्छ र टोकेको महसुस नहुन पनि सक्छ । तर, गोमन सर्पको विष छिटो लाग्छ र शरीरमा पनि छिटो फैलिन्छ । करेट सर्पले टोकेको मानिसको विष ढिलो गरी निको हुन्छ । यसको विष निको हुन १२–१६ घन्टा लाग्न सक्छ, तर गोमन सर्पको विष एक घन्टामा निको हुन सक्छ । 

जोगिन के गर्ने ?
रातको समयमा नहिँड्ने, हिँड्नैपरे उज्यालोको सहायतामा हिँडडुल गर्ने, सुत्नुअघि ओछ्यान राम्रोसँग टकटक्याउने, सुत्ने कोठा र घरका अन्य कोठा राम्रोसँग हेरेर मात्र सुत्ने गर्नुपर्छ । 

त्यसैगरी, ओछ्यानमा झुल लगाउनुपर्छ, भुइँमा कहिल्यै सुत्नुहुन्न । घरवरिपरि सफा राख्ने र झ्यालढोकामा जालीको व्यवस्था गर्नुपर्छ । सर्पले मुसा, कुखुरा र हाँस खाने भएकाले सुत्ने कोठानजिक मुसा आउन नदिने तथा कुखुरा र हाँस घरभन्दा टाढा पालन गर्दा सर्पको टोकाइबाट बच्न सकिन्छ ।

तपाईँको मत