अर्थतन्त्र

एनआईसी एशिया बैंकको नाफा १० प्रतिशतले बढ्यो

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ७८/७९ को तुलनामा आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासमा बैंकको नाफा १० दशमलव ३५ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी ९ दशमलव ५८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा ११ अर्ब २८ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । संचालन नाफा १४ दशमलव ४५ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड रहेको छ । यसको आधारमा कम्पनीको प्रति शेयर वितरणयोग्य नाफा (लाभांश क्षमता) ३१ रुपैयाँ ९९ पैसा रहेको छ ।

कम्पनीको खराब कर्जा भने केही बढेको छ । अघिल्लो वर्ष शून्य दशमलव ५३ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यमा शून्य दशमलव ८० प्रतिशत रहेको छ ।

११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडामा १४ अर्ब ३८ करोड रुपैयाँ र रिटेण्ड अर्निंङ्गमा ३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। प्रकाशित तथ्याङ्क अनुसार कम्पनीको प्रति शेयर आम्दानी ४० रुपैयाँ २२ पैसा र प्रति शेयर नेटवर्थ २५६ रुपैयाँ ४१ पैसा रहेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म निक्षेप संकलन ७ दशमलव ४० प्रतिशतले वृद्धि हुँदै ३ खर्ब ११ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३ दशमलव ८२ प्रतिशतले वृद्धि हुँदै २ खर्ब ६२ अर्ब पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत