कला

कविता : समय बोल्नेछ 

तिमीले 
केही थान यस्ता प्रश्न सोध्यौ
जो, 
नसोधेको भए हुन्थ्यो भन्ने 
तिमीलाई नै लागि रहनेछ ।
मैले 
केही थान यस्ता जवाफ दिए
जो,
नदिएको भए हुन्थ्यो भन्ने मलाई नै लागिरहने छ ।
आज 
हामीले यो बुझेका छौं
जीवनमा,
सबै कुरा जान्न खोज्नु हुँदैन,
सबै कुरा हेर्न खोज्नु हुँदैन, 
सबै कुरा लुकाउन खोज्नु हुँदैन,
सबै कुरा देखाउन खोज्नु पनि हुँदैन ।
देखाउनु पर्ने कुराहरु देखाउँदा 
र नदेखाउनु पर्ने कुराहरु 
नदेखाउँदा नै दुनियाँ सुन्दर बन्छ ।
जान्नु पर्ने कुराहरु जान्दा
र नजान्नु पर्ने कुराहरु नजान्दा नै जीवन सुखी हुन्छ ।
तिमी तिम्रै बाटो
र,
म मेरै बाटो लाग्ने बेला,
तिम्रा केही थान प्रश्नहरु 
तिमीले नसोधे पनि म सुनिरहेको छु 
मेरा केही थान जवाफहरु 
मैले नदिए पनि तिमीले बुझेकी छौ ।
तर, 
अपरिपक्व हाम्रो मिलनको 
परिपक्व बिछोड रोज्ने हामी 
यति  सचेत त हुनै पर्छ,
समयको गर्भबाट जन्मिएका
यी सवालहरुको सन्दर्भमा  
समय आए पछि समयले नै जवाफ दिनेछ ।
त्यसैले 
ओ महारानी,
म तिमीले नसोधेको 
कुनै सवाल बारे सोच्दिन्न ।
तिमी, 
मैले नदिएको 
कुनै पनि जवाफ आफै नबुझिदिनु ।
यही सोचेर हामी नबोलौ
की कुनै दिन यो समय बोल्नेछ।

तपाईँको मत