जीवनशैली

गर्मीमा शरीरलाई फाइदा : दही–मोही महिमा

मोहीको महत्वको विषयमा योग रत्नाकर नामक ग्रन्थमा लेखिएको एउटा श्लोकको आशय यस्तो छ,‘यदि कैलाशमा मोही (छाछ, वा मठ्ठा) हुँदो हो त शिवजीको कण्ठ विष रोक्नाको कारणले नीलो हुँदैनथ्यो । वैकुण्ठमा मोही हुँदो हो त विष्णुको शरीर कालो हुँदैनथ्यो होला । देवराज इन्द्र सौन्दर्यविहीन हुँदैनथे होला । गणेशजीको पेट त्यति ठूलो हुँदैनथ्यो होला ।’

यस श्लोकमा व्यक्त विचारबाट के अर्थ लाग्छ भने शरीरमा हुने विभिन्न विषालु तत्वलाई निकालेर मानिसलाई स्वस्थ बनाउन मोहीले ठूलो भूमिका खेल्छ । कुनै व्यक्ति स्वस्थ छ भने उसको सौन्दर्य त्यसै नै बढ्छ । यसैगरी आयुर्वेदको अर्को एउटा ग्रन्थमा लेखिएको छ, ‘मोहीको नियमित सेवन गर्ने व्यक्ति रोगी हुँदैन । जसरी स्वर्गमा देवताहरूका लागि अमृत छ, त्यसैगरी मनुष्यका लागि मोहीको प्रयोग सुखदायी हुन्छ ।’

आर्युवेदिक विज्ञानका साथै आधुनिक विज्ञानमा पनि दहीको महत्वको बारेमा स्पष्ट व्याख्या गरिएको छ । दूधबाट दही बन्दा एक विशेष प्रकारका कीटाणु पैदा हुन्छन्, जसले हाम्रो स्वास्थ्यका लागि निकै महत्व राख्छन् । बच्चाबच्ची, गर्भवती महिला र वृद्धवृद्धाहरूको हाडको लागि नभई नहुने क्याल्सियम दहीमा पाइन्छ । क्याल्सियमको महत्व हाडको लागि अति नै हुन्छ । उमेर बढ्दै जाँदा हाडको घनत्व कम हुँदै जान्छ र अस्टियोपोरोसिस नामक रोग लाग्ने सम्भावना हुन्छ । विशेषगरी महिनावारी बन्द भएका महिलाहरूमा यो समस्या बढी हुन्छ । यस समस्याबाट बच्नका लागि क्याल्सियमको अति नै महत्व छ । क्याल्सियमयुक्त भोजनको प्रयोग यस रोगबाट बच्ने एउटा राम्रो उपाय हो ।

दही र मोहीमा हुने क्याल्सियमले कुपोषित बच्चा तथा बिरामी भएर तङ्ग्रिन सुरू गरेका बालबालिका सबैका लागि विशेष महत्व राख्छ ।

दही दूधभन्दा धेरै सजिलोसँग पच्छ । दूध खान मन नलाग्ने वा कतिपय अवस्थामा दूध नपच्ने वयस्क व्यक्ति र बच्चाहरूका लागि पनि दही एउटा उत्तम भोजन हो । दूधबाट दही बन्दा विशेष प्रकारका लाभदायक कीटाणुहरू उत्पन्न हुन्छन् । ती कीटाणुहरूले पेटमा रहेका हानिकारक कीटाणुलाई नष्ट गर्न मद्दत गर्छन् । कतिपय व्यक्तिहरूलाई एण्टिबायोटिकको प्रयोग गर्दा दिसा–पखाला लाग्ने गर्छ ।

यसबाट बच्न दहीको प्रयोग अत्यन्त लाभदायक हुन्छ । दही पखाला रोक्नुका साथै कब्जियत खुलाउन पनि उपयोगी सिद्ध भएको छ ।

गर्मीमा हामीले बाटाकाे फलफूलको जुस त तागतिलो हुन्छ भनेर खान्छौं, तर त्यो कुहिएको फलफूललाई कच्याकुचुक्क बनाएर राखेको हुन्छ ।

यस्तो जुस दिनु भनेको स्वास्थ्यमा खेलबाड गर्नु हो ।

गुलियो र रसायन मिसिएका पेयपदार्थले दाँत, पेट, हाडजोर्नी लगायत शरीरका अन्य अंगहरूमा विभिन्न प्रकारका समस्याहरू उत्पन्न गराउँछ। यस्ता पेय पिउनाले मोटोपन लगायत अनेक किसिमका रोगको शिकार भइन्छ ।

त्यस्तै, एक कोल्ड डिंक्सको अध्ययन गर्दा त्यसमा क्यान्सर पैदा गर्ने तत्व मापदण्ड भन्दा निकै बढी भएको पाइएको तथ्य थियाे । द सेन्टर फर इन्भायरमेन्ट हेल्थले सो पेयपदार्थलाई रंगयुक्त बनाउन उपयोग गरिने रसायन तोकिएभन्दा निकै बढी भएको र यसमा क्यान्सर उत्पन्न गर्ने तत्व पाइएको सार्वजनिक गरेको हो ।

बजारमा पाइने जुसको सट्टामा घरमा नै हुने दही, मही खानुपर्छ ।

तपाईँको मत