गाउँ सहर

‘शिरीष फूलेपछि मानिसको ओइरो’ टिकटक भिडिओ बनाउनेको भीड

  • २४ जेठ बुधबार, २०८० | ०६:२८:०० मा प्रकाशित

झापा । झापाको बर्ने चिया बगानस्थित मेची राजमार्ग किनारमा शिरीष फूलेर राताम्य भएपछि ‘टिकटक भिडिओ’ बनाउनेको भीड उर्लिएको छ। 

झापा र इलामको सिमाना नजिक पर्ने सो स्थान बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा छ। चियाको बुट्यानयुक्त प्राकृतिक हरियालीमा फूलको सौन्दर्य थपिएपछि मेची राजमार्ग हुँदै पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङ जाने अधिकांश यात्री एकछिन रोकिएर रमाउने र फोटो खिचाउने गर्छन्। 

शिरीष फूलको सौन्दर्यले मोहित हुँदै खिचिएका फोटो र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिरालो जमिन भएकाले भूक्षय हुन नदिन शिरीषका विरुवा हुर्काइएको थियो। पुराना ती रुखहरू वर्षमा एकचोटि फूलेर राताम्य हुँदा पर्यटकीय आकर्षणको केन्द्र बन्ने गरेको हो।

शिरीष फूल्न थालेपछि हरेक दिन पाँच सय मानिस सो स्थानमा घुमफिरका लागि आउने गरेका छन्। पर्यटकको ओइरो लागेपछि चिया, खाजा र पानी बेच्ने साना व्यवसाय फस्टाएका छन्। “शिरीष फूलेपछि मानिसको ओइरो लाग्यो, त्यसपछि मैले पनि यहाँ पानी, कुरमुरे जस्ता सामान बेच्न थालेको छु”, बुद्धशान्ति–४ का अर्जुन घिमिरे भन्छन्, “पहिला बुधबारे बजारमा दोकान चलाउँथे। अहिले यही भाइरल शिरीषको फेदमा बसेर व्यापार चलाइरहेको छु।” अरुभन्दा शनिबार भीड उर्लिने गरेको उनले बताए।

एक साताअघि अस्ट्रेलियाको ब्रिसबेनबाट स्वदेश फर्किएकी इटहरी–४ की अनुष्का कटुवाललाई इलामको पर्यटकीय स्थल श्रीअन्तु जाँदै गर्दा बर्नेको भाइरल शिरीषको फूलले लोभ्यायो। परिवारका १२ जना सदस्यसहित आएकी उनले रिजर्ब गाडीलाई राजमार्ग छेउमा पार्किङ गराएर एक घण्टा फोटो र भिडिओ खिचाउनमा बिताइन्।

“चिया बगानको हरियाली हेर्दै इलामतिर जाँदै थियौँ, रुखभरि रातो रङ पोतेजस्तो गरी फूलेको शिरीषका रुखहरू बाटामा लहरै उभिएका देखेपछि मनै थामिएन”, उनले भनिन्, “वरिपरि चिया बगानको हरियाली, माझमा चिल्लो राजमार्ग र लहरै फूलको शिरीषहरू। साह्रै राम्रो ठाउँ रहेछ।” रासस

तपाईँको मत