उपचारपछि नेपाल फर्किएका चन्द्र भण्डारीकाे संसदमा सम्बाेधन - जलन केसमा धेरै ठूलो दर्द लुकेको छ
- गाउँ सहर संवाददाता
- १० जेठ बुधबार, २०८० | १८:००:०० मा प्रकाशित
काठमाडौं । ग्यास जलनबाट घाइते भएर लामो समयसम्म उपचार गराएका सांसद चन्द्रकान्त भण्डारीले बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गरेका छन् । आगलागीको घटनामा परी घाइते भई लामो समय नेपाल र भारतमा उपचार गराएका कांग्रेस नेता चन्द्र भण्डारी बुधबार प्रतिनिधिसभा बैठकमा उपस्थित भएका हुन् । उनलाई सभामुखले विशेष समय उपलब्ध गराएपछि बुधबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका छन् ।
सम्बोधनका लागि मर्यादापालकहरुको सहारामा रोस्टममा पुगेका भण्डारीले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखे ।
भण्डारीको नेपालमा उपचार सम्भव नभएपछि मुम्बइस्थित नेशनल बर्न सेन्टरमा उपचारत भएको थियो । गत फागुन ३ गते बुद्धनगरसस्थित निवासमा ग्याँस लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए। उनकी आमा हरिकला भण्डारीको गत फागुन ४ गते उपचारका क्रममा निधन भएको थियो।
उनको स्वास्थ्यमा अझै पनि सुधारोन्मुख छ । उनले स्वास्थ्य प्रतिकुलताका बीच विशेष समय माग गरेर संसदमा बोलेका हुन् ।
'जलन केसबाट मैले जुन परिस्थिति भोग्नुपर्यो, जुन शारीरिक अवस्थामा पुग्नुपर्यो । त्यो अवस्था धेरै नेपालीहरुले भोगिरहनु भएको छ । गत वर्ष १ सय १० जना मृत्युवरण गर्नुभएको थियो,' उनी भन्छन्, 'त्यसमा मेरो आमा थपिँदा १ सय ११ पुगेको थियो । जलन केस देशभरि फैलिएको छ । हामीले जसरी विज्ञानको विकास गरौं, गाउँ गाउँमा ग्यास पुग्यो, गाउँ गाउँमा बिजुली पुग्यो ।'
ग्यास र बिजुलीको प्रयोग गर्नेबारे पाठ्यपुस्तकमा समावेश नगरेको भन्दै आगामी दिनमा उक्त कुरा राख्नुपर्नेमा जोड दिए ।
'हामीले के गर्नु हुन्छ, के गर्नु हुँदैन भनेर हामीले पाठ्यपुस्तकमा पनि राख्न सकेनौँ । बच्चाहरु स्कुल जाँदा कसरी सडक क्रस गर्ने ? वा ग्यास कसरी बाल्ने वा बिजुली कसरी बाल्ने ? भनेर विश्वका अरु देशमा साना बच्चाले पढ्न पाउँछन् । तर हाम्रा विज्ञ, पाठ्यक्रम निर्माता कसैलाई पनि यसबारे ध्यान भएन,' सांसद भण्डारीले भने ।
जलन केसमा धेरै गरिब मान्छे पर्ने गरेको भन्दै यसमा धेरै ठूलो दर्द लुकेको उनले बताए । 'ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्नुपर्छ । अर्को राख्नै पाइँदैन भनेपछि मर्ने केस नै कम हुन्छ । यसलाई कानुन बनाउनका लागि सभामुखमार्फत सरकारलाई आग्रह गर्न चाहेँ,' उनले भने ।
उनले आफ्नो उद्दार गरेको सरकार, सांसद र स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरे । भण्डारीले भने, 'मलाई रेक्यु गरी यो अवस्थामा ल्याएर बोल्ने गराउने वर्तमान सरकार, माननीय सांसद ज्यूहरु, शुभचिन्तक ज्यूहरु र स्वास्थ्यकर्मी ज्यूहरु सबैलाई आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु ।'
भेन्टिलेटरमा गएर आफू सौभाग्यले बाँचेको भन्दै उनले नेपालमै एउटा जलन अस्पताल बनाउनुपर्ने बताए । 'मलाई छिमेकी देशमा पठाउँदा मैले त्यहाँ डाक्टरसँग कुरा गर्दा विगतका तीन वर्षमा तीन जना मान्छे मात्र भेन्टिलेटरमा गएर बाँचेको रहेछन्,' भण्डारीले भने,'त्यसमध्ये म एउटा नेपाल सौभाग्यले तपाईँहरूलाई भेट्न पाएका कारण बाचेर आएर बोल्दैछु । मैले प्रधानमन्त्रीलाई आउँदा आउँदै पनि अनुरोध गरेँ । हामीले एउटा हस्पिटल बनायौं भने एशियाको सबैभन्दा सबल हस्पिटल नेपाल बन्न सक्छ ।'
वातावरण र खर्चका हिसाबले एशियाको सबैभन्दा सबल हस्पिटल बन्ने सांसद भण्डारीको भनाइ छ । 'यसका लागि पहिला हामीले कीर्तिपुर र सुस्मले थामिरहेको छ । त्यहाँ अहिले एउटा भवनको आवश्यकता रैछ । अरु विरामीजस्तै हामीले जलनका बिरामीलाई पनि जोड दिन आवश्यकता रैछ,' भण्डारीले भने ।
सांसद भण्डारीले आफ्नो उपचारका लागि सरकारले गर्ने सहयोग अस्पताल बनाउन लगाउन सरकारलाई सुझाए ।
'म कीर्तिपुरबाट भारत जाँदा निदाएको थिएँ । त्यहाँ म सात दिनपछि ब्युजिएँ । मलाई सहयोग आएको रहेछ । त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग अस्पताल बनाउने कुरामा सहयोग होस्,' भण्डारीले भने ।
यस वर्ष मात्रै जलनबाट १११ जनाको मृत्यु भइसकेको उल्लेख गर्दै सांसद भण्डारीले जलनको विषयलाई गम्भीर रुपमा लिनुपर्ने बताएका थिए । साथै यस्ता विषयलाई सरकारले स्कुले पाठ्यक्रममा नै समेट्नुपर्ने उनको सुझाव थियो । 'ग्यास कसरी बाल्ने, बिजुली बाल्ने, सडक कसरी क्रस गर्ने जस्ता विषय पाठ्यक्रममा नै समेटिनुपर्छ,' भण्डारीले भनेका थिए ।
सांसद भण्डारीले ग्यासको रेगुलेटर स्वचालित मात्रै प्रयोग गर्ने कानुनी व्यवस्था र कडाइका साथ कार्यान्वन गर्न सरकारलाई आग्रह गरेका छन् । उनले स्वचालित रेगुलेटर प्रयोग गर्ने व्यवस्था गरेमा धेरैको ज्यान जोगिने बताए । जलनमा परेकाको उपचार दुर्गम र आर्थिक अवस्था कमजोर भएकाको झनै समस्यामा रहेको भण्डारीको भनाइ थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सांसदहरुले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित
- टी-ट्वान्टी महिला सिरिजमा नेपालकाे जित
- आजकाे प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल हुने कार्यसूची
- सेती जलविद्युत् आयोजना आगामी मङ्सिरभित्रमा सम्पन्न हुने
- भारत भ्रमण विगतका भन्दा परिणाममुखी र कामकाजी भएको छ : प्रधानमन्त्री प्रचण्ड
- नेपालमा धेरै जनसंख्या भएको जाति क्षेत्री र कम नुराङ, हिन्दू धर्म मान्ने ८१ प्रतिशत बढी (विवरणसहित)
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- दुर्घटना अपडेट : सुनकोशीमा बेपत्ता तीनको पहिचान खुल्यो
- नक्कली भुटानी शरणार्थी प्रकरण : १५ प्रतिवादीको बयान सकियो, १२ जना अझै फरार
- नेपालको सबैभन्दा सुरक्षित विधुत्तिय वालेट “आइएमई पे” ले ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण
प्रतिकृया दिनुहोस