सडक/यातायात

वैशाख १ गतेदेखि जनकपुर–जयनगर रेल सेवाको विस्तार हुने

  • २४ चैत शुक्रबार, २०७९ | १२:०१:०० मा प्रकाशित

जनकपुरधाम । नेपालको एक मात्र कुर्था–जनकपुरधाम–जयनगर ब्रोडगेज रेल्वे सेवाले वैशाख १ गतेबाट सेवा विस्तार गर्न लागेको जनाएको छ ।

यात्रुहरूको सुविधालाई ध्यानमा राखी बिहानको प्रथम सेवा कुर्थाबाट जयनगरतर्फ खुल्ने गरी वैशाख १ गतेदेखि नयाँ समय सारिणी सार्वजनिक गर्न लागिएको नेपाल रेल कम्पनीले जानकारी दिएको छ । जनकपुरधामको कुर्था–जयनगर रेल्वे अप एण्ड डाउन गरेर दैनिक चार पटक सञ्चालन हुने भएको छ ।

जसअनुसार बिहान सवा ७ बजे जनकपुरधामको कुर्थाबाट छुटेर बिहान सवा ९ बजे जयनगर पुग्ने छ भने जयनगरबाट बिहान साढे ९ बजे छुटेर बिहान साढे ११ बजे जनकपुरधामको कुर्था फर्किने भएको छ ।

जनकपुरधामको कुर्थाबाट फेरि मध्यान्ह २ बजेर ४५ मिनेटमा छुटेर ४ बजेर ४५ मिनेटमा जयनगर पुग्ने छ भने जयनगरबाट साँझ ५ बजे छुटेर साँझ ७ बजे जनकपुरधामको कुर्था फर्किने गरी रेल्वेको समय निर्धारण गरिएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

जयनगरदेखि जनकपुरधामको कुर्थासम्मको ३५ किलोमिटरमा यात्रीसहित दिनको चार पटक रेल चल्ने भएको भएको छ । रेलको भाडा दर यस अघि नै निर्धारण भइसकेको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो खण्डमा जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर सञ्चालनमा रहेको छ भने जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म चलाउन मिल्ने भए पनि बर्दिबाससम्मको सम्पूर्ण काम पुरा नभएको बताइएको छ । जनकपुर–जयनगर–बर्दिबास ब्रोडगेज रेल सेवाको कूल लम्बाई ७४ किलोमिटर रहेको छ ।

भारत सरकारबाट नेपाल सरकारले डिजेल तथा विद्युत्बाट चल्ने दुई वटा इन्जिन सहितको १० वटा डब्बा खरिद गरेर नेपालमा पहिलो पटक गत वर्ष चैत्र १९ गतेबाट ब्रोडगेज रेल सेवा सञ्चालनमा ल्याएको थियो ।

तपाईँको मत