कृषि

धानको बीउ राख्न सार्वजनिक बिदा

  • १२ चैत आइतबार, २०७९ | २०:२३:०० मा प्रकाशित

जुम्ला । जुम्लाका किसानलाई यो याममा कालीमार्सी धानको बीउ राख्ने चटारो परेको छ।

यहाँका किसानले मार्सीधानको बीउ राख्ने चैत १२ भएकाले कर्णाली प्रदेश सरकारले विशेषगरी जुम्लामा आइतबार सार्वजनिक बिदासमेत दिएको छ। जुम्ली किसानहरूले आइतबार आफ्नो कृषि क्यालेन्डरअनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ मनाएको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी सत्यदेवी पाण्डेले जानकारी दिइन्।

यहाँ कालीमार्सी धानको बीउ चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते बेर्ना राख्ने परम्परा रहिआएको स्थानीयवासी बताउँछन्। जिल्लामा करिब दुई हजार आठ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

ऊर्जा विकास तथा सिँचाइ कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठले जिल्लाभर विपदले खेतीयोग्य जमिन र कुलो बगाएको बताए। कार्यालयमा आएका निवेदनअनुसार कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा ऊर्जा विकास मन्त्रालयमा ३४ वटा कुलाको योजना निर्माणका लागि पठाएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ। 

सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालका अनुसार पालिकाभित्र  जाँच कुलो, घोडेङ्गा, चुलेलगाउँ, धिताललिहीसहित विभिन्न स्थानमा ठूलो मात्रामा मार्सीधान सिँचाइ हुने कुलो विपदले क्षतविक्षत बनाएपछि मर्मत गर्न समस्या भइरहेको छ।

गत असोजमा आएको बाढी र पहिरोले गएको कुलो निर्माण हुन नसक्दा यस पटक धेरैजसो किसानलाई बीउ राख्न कठिन भएको छ स्थानीय तहका कृषि शाखाले जनाएका छन्। तस्विर- विजयर रावत/रासस

तपाईँको मत