खेल

सुनापति-शैलुङ अल्ट्रा म्याराथन शुरू

  • ४ चैत शनिबार, २०७९ | ०९:३८:०० मा प्रकाशित

रामेछाप । सुनापति–शैलुङ अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको शुरू भएकाे छ । प्रतियोगिताका शनिबार (आज) बिहान ७ बजेबाट शुरू भएकाे हाे । 

उद्घाटन कार्यक्रममा संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम), प्रदेश सांसद युवराज चाैलागाइ, खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, जिल्ला समन्वय समिति प्रमुख चीना खड्का, गाउँपालिका अध्यक्ष ठुलाेकान्छा तामाङ, उपाध्क्ष गीता विष्ट,दाेरम्बा गाउँपालिकाका अध्यक्ष मैनकुमार माेक्तान लगायत स्थानीयहरूकाे सहभागीता रहेकाे थियाे । 

सुनापति गाउँपालिकाको साँधीडाँडाबाट सुरु भएकाे म्याराथन प्रतियोगिता रामेछाप र दोलखाको सिमावर्ती शैलुङ पुगेर टुंगिने छ । ५५, २५ र ५ किलोमिटर लामो उक्त म्याराथन प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्‍ले आयोजना गरेको हो । आयोजकका अनुसार प्रतियोगिताअन्तर्गत ५५ किलोमिटर लामो म्याराथन प्रतियोगिता हिलेदेवी, गाल्वा, खाँडादेवी, दोरम्बा, निगलाबास, डडुवा धारा, घलेडाँडा हुँदै शैलुङ पुग्नेछ । प्रतियोगिताअन्तर्गत म्याराथनका लागि स्वदेशी र विदेशी‍समेत ५० जना धावकले नाम दर्ता गराएका छन् ।

यसैगरी सुनापतिबाट सिधै शैलुङ पुग्ने २५ किलोमिटर म्याराथनमा १ सय १ जना र शैलुङडाँडामा मात्र सीमित ५ किलोमिटर म्याराथनमा ६९ जना धावकले नाम दर्ता गराएका छन् । प्रतियोगितामा बेलायत, अमेरिका, स्वीडेन, जर्मनीलगायतका विदेशी तथा नेपाली धावकहरुले प्रतिस्पर्धा गर्दैछन् ।

यसअघि नै नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको आदिवासी जनजाति पदमार्ग र पर्यटकीय स्थान शैलुङको प्रचारका लागि म्याराथन आयोजना गरिएको हो । प्रतियोगिताले स्थानीय जनजीवन, पर्यापर्यटन र शैलुङको सौन्दर्यलाई विश्वसामु प्रचार गर्ने उद्देश्य राखिएको छ ।

काठमाडौंभन्दा पूर्वी पहाडको सबैभन्दा नजिकमा पर्ने शैलुङबाट हिमालयको दृश्यावलोकन गर्न सकिन्छ । ३ हजार १ सय ४७ मिटर अग्लो शैलुङडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न यसअघि पर्यटन मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहले पूर्वाधार विकासका लागि लगानी गर्दै आएका छन् । प्रतियोगिताका लागि रामेछापको सुनापति र दोरम्बा शैलुङ गाउँपालिकाले पनि आर्थिक सहयाेग गरेका छन् ।

रामेछापमा पहिलो पटक हुन लागेको अल्ट्रा म्याराथन प्रतियोगितामा भाग लिने धावकहरुले विभिन्न ९ स्थानमा चेक प्वाईन्टमा पुगेर नाम दर्ता गराउनु पर्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ३५ हजार र तृतीय हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार उपलब्ध गराइने छ ।

तपाईँको मत