स्ववियु निर्वाचन : आज रातिदेखि प्रचारप्रसारमा रोक, मौन अवधि सुरु
- गाउँ सहर संवाददाता
- ३ चैत शुक्रबार, २०७९ | १२:३०:०० मा प्रकाशित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आज रातिदेखि मौन अवधि सुरु हुने भएको छ ।
स्ववियु निर्वाचन आचारसंहिताअनुसार आज राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले उम्मेदवारले आज राति १२ बजेदेखि स्ववियु चुनावको प्रचार–प्रसार गर्न नपाउने बताए ।
उनले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिएको जानकारी दिए । आज रातिदेखि आचारसंहिता लाग्ने भएपछि आज सम्बन्धित क्याम्पसले उम्मेदवारको प्रचार–प्रसारका लागि एउटा कार्यक्रम गरी परिचयात्मक कार्यक्रम राखेका थिए ।
यही चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि पाँच दिनको लागि मात्र प्रचार–प्रसारको समय छुट्याइएको थियो । निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवार मनोनयनपत्र दर्ता गरिएको थियो ।
स्ववियु निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।
उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावलीको एफोर साइजको एकै रङ भएको पर्चामात्र प्रचार–प्रसार गर्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि ६२ आङ्गिक र एक हजार ४० क्याम्पसमा एकै साथ यही चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने छ ।
मतदान केन्द्र यी सामान लैजान प्रतिबन्ध
त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निषेध गरेको छ । निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको हो ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले निर्वाचनलाई भयरहित बनाउनका लागि तरल, धातुजन्य वस्तु, डिजिटल वस्तु र आगोजन्य वस्तु मतदान केन्द्रमा लैजान निषेध गरिएको बताए ।
उनका अनुसार पानीका बोतल, पेट्रोल, डिजल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोतल, रङ, मसी लैजान निषेध गरिएको छ ।
यस्तै धातुजन्य वस्तुमा नङकट, धारिलो हतियार, भाला, खुकुरी, छुरी, चक्कु, डिजिटल वस्तुमा मोबाइल, क्यामेरा, झोला, लौरो, हेल्मेट, छाता, चाबी, रेकर्डर, साइकल तथा मोटरसाइकलको चेनसमेत लैजान प्रतिबन्ध गरिएको छ । यस्तै लाइटर, सलाई, ग्यासजन्य वस्तु पनि लैजान प्रतिबन्ध गरिएको छ ।
उनले त्रिविअन्तर्गतका सबै क्याम्पसमा रहेका निर्वाचन समितिलाई प्रतिबन्धित वस्तु लैजान निषेध गर्न निर्देशनसमेत दिइसकेको जानकारी दिए । रासस
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस