गाउँ सहर

यस्ताे छ बहादुरीलाई कथा बनाएर भाइरल भएकाे तस्बिरकाे वास्तविकता

  • २० फाल्गुण शनिबार, २०७९ | ११:०९:०० मा प्रकाशित

कुश्मा । पर्वतमा शुक्रबार एउटा गाउँमा चितुवा भेटियो । त्यसको केहीबेरमै मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । पर्वतवासीको साहस र बहादुरीलाई कथा बनाएर तस्बिर एकपछि अर्को गर्दै फेसबुकमा राख्ने सिलसिला चल्यो ।

‘के साँच्चिकै गाउँलेले जिउँदो चितुवा समाएका हुन् ?’ जिउँदो चितुवा बोकेर खिचेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरको वास्तविकता फरक भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान फलेबास–२ थापाठानाको गहतेमा गाउँलेले चितुवा देखेर खबर गरेपछि प्रहरी टोली पुगेको थियो ।

‘हामी १० बजे आसपासमा चितुवा भएको ठाउँमा पुगेका थियौं । बेहोस अवस्थामा रहेको चितुवा एकैछिनपछि जुरुक्क उठे पनि धानिन नसक्ने भएकाले यताउति गर्दै बारीको कान्लामुनि खस्यो,’ कार्कीनेटा प्रहरी चौकीका असई विष्णु अधिकारीले भने, ‘त्यसको १० मिनेटपछि चितुवा मर्‍यो । त्यहाँ वरिपरि रहेका युवामा मरेको चितुवा उचाल्दै फोटो खिच्न तँछाडमछाड नै भयो । चितुवाको मुचुल्का उठाउँदा त्यस्तो बाहिरी घाउचोट केही देखिएको छैन ।’

डिभिजन वन पर्वतको टोलीले घटनास्थल पुगेर मरेको चितुवालाई कार्यालयमा ल्याएको छ । कार्यालयले चितुवा बुढो भएर सिकार गर्न नसक्ने भएपछि मरेको हुन सक्ने अनुमान गरेको छ । ‘चितुवा २० केजी जतिको छ,’ निमित्त वन अधिकृत विष्णुप्रसाद अधिकारीले भने, ‘बुढ्यौलीले सिकार गर्न सक्ने तागत नहुनु र आहार नभेट्दा कमजोर भएर मरेको हो भन्ने देखिन्छ ।’

एक वर्षअघि पनि पर्वतमा बिरामी अवस्थामा रहेको चितुवाको घाँटीमा डोरीले बाँधेर बजार घुमाएको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र सौराहा पठाइएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र केन्द्रका भेटेरिनरी टिम तथा वन्यजन्तु प्राविधिकको उपचारपछि चितुवा तन्दुरुस्त भएकाले निकुञ्जछेउको जंगलमा छोडिएको थियो ।रासस

तपाईँको मत