दिगोविकास

राष्ट्रपतिबाट आम माफी पाएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी रिहा

 काठमाडौं । कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् ।

कैलाली कारागारबाट रिहा हुने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीति प्रतिशोध साँध्न आफूलाई कारागारमा राखिएको बताए ।

‘जुन हिसाबले म भित्र आएँ त्यो राजनीतिक प्रतिशोध भएको देखिन्छ, ’ चौधरीले भने। भर्खरै उदाउन लागेको दललाई खुम्च्याउन खोज्ने परिपाटी नेपाली राजनीतिमा राम्रो नदेखिएको पनि उनले बताए । 

‘राजनीतिक प्रतिशोध लिएको जस्तो। एउटा राइज भएको पार्टी, अब सानो पार्टी छ। सानो दल छ,’ चौधरीले भने, ‘यो जसरी उठी रहेको छ त्यसरी नै खुम्च्याइदिउँ भन्ने जुन परिपाटी देखियो त्यो नेपालको राजनीतिमा त्यति राम्रो देखिएको छैन ।’

१३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भएका चौधरी सांसद निर्वाचित भएपछि गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनलाई कैलालीको जिल्ला कारागारमा राखिएको थियो ।

वि.स. २०६६ भदौ ३ गते लु२त २११ नम्बरको ट्रयाक्टर जलाएको अभियोगमा दोषी ठहर भएका चौधरीले कैद भुक्तान गर्न बाँकी थियो ।

कारागारबाट रिहा भएपछि सांसद चौधरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले स्वागत गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत