गाउँ सहर

पोखरा हवाई दुर्घटनामा मृत्यु भएमध्ये ६ जनाको शव ‘डिएनए’ बाट पहिचान गरिने

  • ११ माघ बुधबार, २०७९ | १३:२८:०० मा प्रकाशित

कास्की ।  पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ ।  अस्पतालका फरेन्सिकविद् डा.तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताए । ६ जनाको शव अब ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने उनले बताए ।

“६ जनाको शव अत्यधिक जलेको हुनाले हामीलाई फरेन्सिक र फिङगर फ्रिन्ट विधिबाट पहिचानमा समस्या भयो, त्यसैले डीएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेका छौँ,” उनले भने । नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डिएनए’ परीक्षण गरिने छ । उनले ‘डीएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना सङ्कलन गर्ने कार्य भइरहेको जानकारी दिए ।

यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२  दिन लाग्ने छ । विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौँ ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो ।  गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो ।

तपाईँको मत