कला

पढाई

उसले आफ्नो लागि कहिल्यै पढेन
कहिले बुबा - आमाको लागि पढ्यो
कहिले परीक्षाको लागि पढयो
कहिले रमाइलोको लागि पढ्यो
तर आफ्नो सपनाको लागि उसले कहिल्यै पढेन ।

समयको कालान्तरमा
उसका पढ्ने साथीहरु अगाडि बढे,
उ जहाँको त्यहीँ रह्यो
समयले डाँडो काटिसकेका वृद्धा भन्दछन्
पढ्न पाएको भए बेग्लै हुनेथियो
उसले पढ्न पाएर पनि पढेन ।
उमेर बढेअनुसार जिम्मेवारी बढ्दै जान्छ
सोही अनुरूप
शारिरीक स्फूर्ति पनि हराउँछ
खाने मुखलाई जिब्रोले छेक्दैन भनेजस्तै
पढ्ने उदाहरण पनि होलान्
तर न्यून
उ सजक छ

आफ्नो भविष्य प्रति
आफ्नो पढाइ प्रति
तर पनि उसले पढेन ।

उसले आफ्नो सोचाई पढ्यो
जसको कुनै डिग्री हुँदैन
उसले आफ्नै इतिहास पढ्यो
जसको कुनै सर्टिफिकेट हुँदैन
उसले आफ्नो समाज पढ्यो
जसको कुनै परीक्षा हुँदैन
उसले आफ्नै व्यवहार पढ्यो
जसको कुनै प्रतिक्रिया हुँदैन ।

त्यसैले उसले के पढ्यो
सायद उसैलाई थाहा होला
तर सबैको नजरमा उ
अशिक्षित भएर बाँचेको छ ।

तपाईँको मत