अर्थतन्त्र

बैंकिङ प्रणालीमा राष्ट्र बैंकले पठायो २८ अर्ब ५० करोड तरलता

  • २५ कार्तिक शुक्रबार, २०७९ | १५:२०:०० मा प्रकाशित

काठमाडौं । शुक्रबार राष्ट्र बैंकले बैंकहरूसँग भएको ट्रेजरी बिल खरिद गरेर २८ अर्ब ५० करोड तरलता बजारमा पठाएको छ ।  चैत मसान्तसम्म भुक्तानी मिति बाँकी भएको ट्रेजरी बिल राष्ट्र बैंकले सोझै खरिद गरेको हो ।

सरकारले  निष्कासन गर्ने ऋणपत्र वा ट्रेजरी बिल  २८, ९१, १८२ र ३६४ दिन अवधिको हुने गर्छ । बैंकहरूको ट्रेजरी बिल खरिद गरेर २८ अर्ब ५० करोड रुपैयाँ बैंकमा प्रवाह गर्दा ऋण दिने क्षमतामा प्रभाव पर्दैन । तर, बैंकहरूले राख्नुपर्ने अनिवार्य नगद मौज्जात(सीआरआर)मा भने असर गर्छ । बैंकहरूले तरलता व्यवस्थापनको लागि आफूसँग भएको ट्रेजरी बिल धितो राखेर स्थायी तरलता सुविधा(एसएलएफ) लिएका हुन्छन् ।

राष्ट्र बैंकले तरलता अभाव भएको बेला बैंक तथा वित्तीय संस्थासँग भएको ट्रेजरी बिल खरिद गर्ने गर्छ  । राष्ट्र बैंकले बैंकमा तरलता प्रवाह गर्न ऋणपत्र सोझै खरिद गर्ने(आउटराइट सेल्स), रिपो लगायत उपकरण प्रयोग गर्ने गर्छ ।शुक्रबार बैंकिङ प्रणालीमा तरलता थपिएको छ ।

राष्ट्र बैंकले ३० अर्बको ट्रेजरी बिल किन्न खोजेपछि २८ अर्ब ५० करोडको मात्र किनेको हो । बैंक तथा वित्तीय संस्थाले ३४ अर्ब ९० करोड रुपैयाँको ट्रेजरी बिल राष्ट्र बैंकलाई बिक्री गर्ने प्रस्ताव गरेका थिए । तर, २८ अर्ब ५० करोडको
मात्र ट्रेजरी बिल राष्ट्र बैंकले खरिद गरेको हो ।

 

तपाईँको मत