राजनीति

शेखर समूहले सभापति देउवासहित प्रचण्ड र नेपाललाईसमेत दिए विद्राेहकाे हुनसक्ने चेतावनी

काठमाडाैं । काठमाडौंमा आयोजित शेखर कोइराला समूहको खबरदारी सभामा भेला भएका नेताहरूले समानुपातिक र प्रत्यक्षतर्फ सम्मानजक टिकट वितरण नभए विद्रोह हुन सक्ने सम्मका चेतावनी दिएका छन् । 

नेपाली कांग्रेस संस्थापन इतर समूहले आयोजना गरेको खबरदारी सभा नुवाकोटका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसीको अगुवाइमा आयोजना भएको हो ।

भेलामा उपस्थित सबैले टिकट वितरणमा ४० प्रतिशत भाग पाउनपर्ने भन्दै पार्टी सभापति शेरबहादुर देउवाकाे चर्काे आलाेचना गरेका छन् । भेलामा सभापति देउवाकाे मात्रै हाेइन गठबन्धनमा भएकाे दलका शीर्ष नेताहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाईसमेत चेतावनी दिएका छन् ।

भेलाको अध्यक्षता गरेका नेता तथा पूर्व सांसद जगदीश नरसिंह केसीले समानुपातिक र प्रत्यक्षतर्फको टिकटमा कम्तीमा ४० प्रतिशत नपाए आफ्नो समूह बाहिरै बस्नेत बताए ।

उनले भने– कांग्रेसमा ६०-४० को सुरुवात शेरबहादुर देउवाले थालनी गरेको हो । उहाँले गिरिजाप्रसाद र सुशील कोइरालासँग ४० प्रतिशत लिनुभएको हो । अहिले पनि सम्मानजनक रूपले समानुपातिक र प्रत्यक्षमा टिकट नपाउने हो भने देउवा पक्ष निर्वाचनमा एक्लै लडे हुन्छ, हामी बाहिर बसेर रुख चिन्हमा भोट हाल्छौँ ।

केसीले समानुपातिकको सूची नसच्याइए अर्को विकल्पका लागि तयार रहन समेत उनले चेतावनी दिए ।

नेता केसीले देउवाले गठबन्धनका दलहरूलाई १८ घण्टा दिने तर पार्टीभित्रका इतर समूहका नेतालाई १८ मिनेट पनि समय नदिएको बताए ।

भेलालाई सम्बाेधन गर्दै नेता गुरुराज घिमिरेले पहिला पार्टीभित्रको आन्तरिक विवाद मिल्नुपर्नेमा जोड दिए । पार्टी सभापति शेरबहादुर देउवाले आफूहरूलाई पन्छाउन खोजेको भन्दै उनले त्यसले समस्या निम्त्याउने बताए ।

उनले देउवासँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई ‘विद्रोह’ हुन सक्ने चेतावनी समेत दिए । 

“म हाम्रो सभापतिलाई मात्र होइन, प्रचण्डजी र माधव नेपालजीहरूलाई पनि भन्न चाहन्छु– हामी आक्रोशको चरणमा छौँ । यसपछि विद्रोह हुनसक्छ,” उनले भने, “बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा, सन्देश पठाउँदैमा, घण्टौँ बैठक गर्दैमा मागे जति सिट पाइँदैन र पाएजति सिट जितिँदैन ।”

उनले ती दुई दललाई कांग्रेसको मतबाट निर्वाचनमा जित हासिल गर्ने सपना नदेख्न आग्रह पनि गरे ।

“कांग्रेसभित्रको आन्तरिक आयाम नमिलेसम्म टाउको जोडेर जित्ने सोचेको भए होस पुर्‍याउनुस्,” उनले भने, “कांग्रेसको भोटबाट जित्ने सपना देख्नुभएको छ भने त्यो सम्भव छैन ।”

घिमिरेले राजाविरुद्ध छाती खोलेर गणतन्त्रको शंखघोष गर्ने आफूहरु रहेको भन्दै प्रचण्डले जस्तो जंगलबाट चौकी नहानेको बताए । उनले आफूहरूले एक आवाज दिँदा हजारौं विद्रोहमा उत्रिने भन्दै पार्टी सभापतिको मनपरी नचल्ने चेतावनी दिए ।

खबरदारीसभामा सहभागी नेता भीमसेनदास प्रधानले समानुपातिकतर्फको बन्दसूचीपछि आफूहरू नेतृत्वप्रति सशंकित भएको बताए । पार्टीभित्र आफूसँग असहमति राख्ने, आफूलाई १४औँ महाधिवेशनमा मत नहालेकै कारणले ‘सशक्त व्यक्तित्वलाई तेजोवध गर्ने ढंगले पार्टी नेतृत्व लागेको’ उनको आरोप छ ।

“बन्दसूचीपछि हामीलाई सचेत गराउने काम भयो । किनभने, नेपाली कांग्रेस पार्टीभित्र धेरै लामो त्याग, तपस्या, बलिदानी गरेका निष्ठावान्, आदर्शवान् कार्यकर्ता पन्छाउने काम भो । आफ्ना मान्छेका नाउँमा समानुपातिक सूचीमा नाम समावेश गर्नुभएको कुरा थाहा भो,” उनले भने, “यसले गर्दाखेरि पार्टीभित्र आफूसँग असहमति राख्ने, आफूलाई १४औँ महाधिवेशनमा मत नहालेकै कारणले एउटा सशक्त व्यक्तित्वलाई तेजोवध गर्ने ढंगले जसरी पार्टी नेतृत्व लाग्यो, र योप्रति हामी सशंकित छौँ । र, सशंकित भयौँ । र, हामीले बाध्य भएर खबरदारीसभा हुँदै हामी कहाँसम्म पुग्नुपर्छ, हामी यसलाई निरन्तर रूपले अघि बढाउँछौँ ।”

त्यसैगरि युवा नेता तथा तरुण दलका पूर्व महामन्त्री भुपेन्द्रजंग शाहीले समानुपातिक सूची सच्याएर प्रत्यक्षतर्फ कम्तिमा ४० प्रतिशत टिकट नपाए शेखर कोइराला र गगन थापा लगायतका नेताहरूले टिकट फ्याँकेर कार्यकर्तासँग आउनुपर्ने बताएका छन् ।

नेता शाहीले शेखर समूहलाई मत दिएका कारण टिकटबाट वञ्चित भएका कार्यकर्तालाई सडकमा अलपत्र पारेर नेताहरूले मात्र चुनाव लड्न नपाउने चेतावनी दिए ।

शाहीले भने– शेखर कोइराला,गगन थापा,धनराज गुरुङ,बद्री पाण्डेहरूले मात्र टिकट पाएर हुन्छ रु तपाईँहरूका कारण हाम्रो भविष्य समाप्त हुँदैछ । यदि समानुपातिक सूची खारेज गरेर बराबरी सीट नदिए र ४० प्रतिशत भन्दा एक सीट पनि कम दिए शेखर, गगन र धनराजहरुले चुनाव लड्दिन भन्नुपर्छ, टिकट फालेर आउनुपर्छ । देउवाहरु एक्लै चुनाव लडुन् ।

देउवाले पार्टीभित्र कार्य समितिमा बहुमत छ भनेर अर्को पक्षलाई पेल्न खोजेको भन्दै १६७ जनाको बहुमत देखाएर ४० लाख मत ल्याउन नसकिने शाहीले बताए । उनले १६ गते अगाडि नै समानुपातिकको सूची खारेज गरेर ४० प्रतिशत हिस्सा नदिए विद्रोह हुने र त्यसको जानकारी देउवालाई दिई सकिएको बताए ।

युवा नेता मनोजमणी आचार्यले न्यायोचित वितरण नभए ४० प्रतिशत चाहिने बताए ।

आचार्यले भने– हामीले ल्याएको ४० प्रतिशत मत के को लागि हो रु महामन्त्रीले ल्याएको ३ हजार मतबारे बोल्नुपर्छ कि पर्दैन ? हामीलाई कि त न्यायोचित वितरण चाहियो नत्र ४० प्रतिशत चाहिन्छ,चाहिन्छ र चाहिन्छ । हिजो शेरबहादुरलाई ४० प्रतिशत चाहिने हो भने भने आज शेखर पक्षलाई किन नचाहिने ? अब यो यात्रा देशभर चल्छ ।

आचार्यले कांग्रेस एक्लै लड्दा बहुमतनजिक पुग्ने अवस्था रहे पनि सभापति देउवाले गठबन्धनका नाममा पार्टीभित्रको इतर समूहलाई नामेट पार्न खोजेको आरोप लगाए ।

आचार्यले भने– शेरबहादुर देउवालाई दायाँतिर प्रचण्ड,बायाँतिर माधव नेपाल र उपेन्द्र यादव भए पुग्ने हो रु पार्टीभित्र कसैलाई टाउको र कसैलाई पुच्छर मात्र खा भन्ने तरिका चल्दैन अब ।

आचार्यले पार्टीभित्र न्यायोचित वितरण र भातृ संस्थालाई पूर्णता दिन माग गर्दा देउवाले गठबन्धनको भागबण्डाबाहेक केही नदेखेको बताए ।

 नेता भरत खड्काले शेखर कोइराला समूहले ७७ वटै जिल्लामा उम्मेदवारी दिने हैसियत राख्नुपर्ने बताएका छन् ।

शेखर समूहले आज काठमाडौंमा आयोजना गरेको खबरदारी सभामा बोल्दै उनले पार्टीभित्र अहिलेको अवस्थामा न्याय नहुने भन्दै यस्तो बताएका हुन् ।

‘यहाँभित्र न्याय हुँदैन । त्यो पर्खाइमा जाने हो भने ढिला हुन्छ । ढिलाइ गरे पार्टी विघटनतर्फ पनि जान सक्छ,’ उनले भने,‘त्यसैले हामीले ७७ जिल्लामै उम्मेदवारी दिने निर्णय गर्नुपर्छ ।’

अहिले पार्टीको टिकट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हातमा रहेको भनेर नेता खड्काले कटाक्ष गरे ।

‘मेरो टिकट बाँड्ने प्रचण्ड जी वाह । हाम्रो टिकट प्रचण्ड जी बाँड्नुहुन्छ, माधवजी बाँड्नुहुन्छ । हाम्रो टिकट त पार्टी सभापति शेरबहादुर देउवाजीले बाँड्ने हो नि,’ उनले भने ।

पार्टी सभापति देउवासँग अझै पनि समय रहेको बताउँदै उनले पार्टी एक ढिक्का बनाएर लैजान आग्रह गरे । पार्टी एक ढिक्का भए गठबन्धन पनि नचाहिने उनको भनाई छ ।

उनले भने, ‘पार्टी सभापतिज्यूसँग अहिले पनि समय छ, पार्टीलाई एकताबद्ध बनाएर अगाडि लगेर जाने हो भने ठाउँ छ । यदि त्यो भएन भने यो टिमले बाहिर आएर ७७ वटै जिल्लामा उम्मेदवारी दिने हैसियत राखोस् ।’

युवा नेता डिल्लीराम सुवेदीले दोस्रो चरणको आन्दोलनका बारेमा छलफल भइरहेको र चाँडै खबर गरिने जानकारी दिए ।

उनले भने- अहिले विभिन्न प्रस्ताव आएका छन्,जुन दिन संसदीय बोर्डको बैठक जहाँ बस्छ त्यहाँ हजारौँ कार्यकर्ता गएर घेराबन्दी गर्छौँ भन्ने कुरा पनि छ । केन्द्रीय कार्यालयमा आमरण अनसन र रिले अनसन बस्ने प्रस्ताव पनि आएको छ । हाम्रो नेताहरुबीच छलफल चलिरहेको छ ।

यस्तै नेता अजय द्वेवेदीले पार्टीले सभापतिले बहुमतको बलमा अन्याय गरेको आरोप लगाए। ‘जहाँ अन्याय हुन्छ त्यहाँ विद्रोह हुन्छ। विभेद र अन्याय स्वीकार्य छैन,’ उनको भनाइ छ ।

खबरदारी सभामा बोल्दै नेता शोभा अधिकारीले सभापतिको एकलौटी राज पार्टीमा नचल्ने बताइन् । सबैलाई न्याय गर्नु र पार्टीलाई एकतावद्ध बनाउने दायित्व सभापतिको रहेको उनको भनाइ छ ।

शेखर समूहले पटकपटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाब दिंदै आएको छ । साथै आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिइरहेको छ ।

शेखर पक्षले १६ गते अगाडि नै कार्यदल बनाएर समानुपातिकको सूची सच्याउनुपर्ने शर्त सभापति शेरबहादुर देउवा समक्ष राखेको छ ।

तस्बिरहरू- उत्तमकुमार कार्की

गाउँ सहर संवाददाता

तपाईँको मत