गाउँ सहर

घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

रामेछाप । बैंकिङ पहुँचबाट टाढा रहेको रामेछापको सुनापति गाउँपालिका वडा नं. १, गुन्सीले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । स्वास्थ्य अवस्थाले वडा कार्यालयसम्म पनि पुग्न नसक्ने वडाका ज्येष्ठ नागरिक, एकल महिला, दलित तथा अपांगता भएकाहरूलाई घर–घरमै पुगेर भत्ता वितरण गरिएकाे हो । स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुनिइसकेपछि नागरिकलाई सहज होस् भनेर घरघरमै लगेर भत्ता वितरण गरिएको वडाअध्यक्ष ध्रव चाैलागाईले जानकारी दिए ।

जनप्रतिनिधिले घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि वृद्धवृद्धा हर्षित बनेका छन् । विगतका वर्षहरूमा अफ्ठेराे बाटाेकाे घण्टाैँ यात्रा गरेर पालिकास्थित बैंकमा पुग्न बाध्य वृद्धवृद्धालाई यसपटक भने सिटिजन बैंक सुनापति पालिका कार्यालयका कर्मचारीहरूकाे समन्वयमा वडाअध्यक्ष चाैलागाईकाे पहलमा वडामार्फतै भत्ता पाएका हुन् ।

वृद्धवृद्धा, एकल महिला, अपांग, दलित बालबालिकालगायतलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको छ । तीन किस्तामा दिईने भत्ता अनुरुप अहिले अघिल्लाे वर्षकाे अन्तिम चौमासिकको वितरण गरिएको चाैलागाईले जानकारी दिए । अहिले गुन्सीकाे साविक वडा १,२,३,४ र बिहीबार भाेली बाँकी वडाका लागि भत्ता वितरण गरिने उनले जानकारी दिए ।

उनका अनुसार बैंकसम्म वृद्धवृद्धा पुग्न नसक्ने र पुगिहाले पनि दिनभर लाइनमा बस्नुपर्ने भएकाले घर–घरमै पुगेर भत्ता वितरण गरिएको हो । उनले निर्वाचनकै बेला आफूले घर–घरमै लगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बाचा गरेको र सोही अनुरुप पहिलोपटक चौमासिक बराबरको रकम घरमै लगेर भुक्तानी गरिएको बताए ।

बैंकमा पुगेर भत्ता लिन वृद्ध, वृद्धा रु अपांगता भएका व्यक्तिलाई सास्ति भइरहको बेला घरमै पुगेर वितरण गर्दा सहज भएको छ । वडाअध्यक्ष चाैलागाईले घरमै पुगेर भत्ता वितरण गर्दा स्थानीयहरु दंग पर्ने गरेका छन् । 

आर्थिक संकटको अन्त्य गर्न प्रदान गरिएको भत्ताले केही राहत दिने वडाअध्यक्ष चाैलागाईले विश्वास व्यक्त गरे ।

घरमै पुगेर भत्ता दिन थालेपछि स्थानीयवासीहरू लाभान्वित बनेका छन् । उनीहरूले साच्चिकै गाउँमा सिंहदरवार आएको अनुभूति गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत