ब्लग

हाम्रो ‘बिर्तामोड’ थप यसरी राम्राे बनाऔँ

  • ३० श्रावण सोमबार, २०७९ | १७:३६:०० मा प्रकाशित

झापाको मुख्य व्यापारिक शहर मध्य एक हो बिर्तामोड। झापामा दमक र भद्रपुर पुराना शहर भए पनि बिर्तामोड गतिशिल बन्दै अघि बढिरहेको छ। बिर्तामोड झापाको सबै भन्दा मध्य बिन्दुमा भएकाले पनि यहाको चहलपहल बाक्लो र उत्साहजनक देख्न सकिन्छ। बिर्तामोडमा सबै प्रकारको ब्यापार ब्यवासाय, बैंक तथा बित्तीय संस्था, कल कारखाना, पाच तारे होटल, अटोमोबाईल्स तथा शोरुम, मल्टिप्लेक्स सिनेमा हल आदि विस्तारै स्थापित हुँदै गैरहेको छ।

बिर्तामोडमा बढ्दो मानिसको वहाब र घनत्वले यो अझ बढ्दै गएको शहरको सन्केत हो। सबै तर्फ घर हरु बढिरहेको छ। घर जग्गा ब्यवसाय पनि निकै फस्टाएको छ। स्कुल, कल कारखाना, अस्पताल आदि को बाक्लो उपस्थितिले शहर अति आवश्यक पूर्वाधारमा निकै अगाडि बढिरहेको महशुस गर्न सकिन्छ।

बढ्दै गएको जनसंख्यामा पनि नेपाल प्रहरीको उच्च सतर्कता र सुरक्षाको प्रत्याभूतिले बिर्तामोड कम जोखिम शहर हो भन्न दुईमत छैन। नेपाल प्रहरी एवम शशस्त्र प्रहरी शान्ति सेवा कायम राख्न हर प्रहर सेवामा उपस्थित रहेर अपराध नियन्त्रणमा मुख्य जिम्मेवारी निभाईरहेका छन्।

बिर्तामोडबाट १७ किलोमिटर पूर्वमा नेपालको पूर्वी सिमाना रहेको मेची नदि रहेको छ। साथै ५ किलोमिटर उत्तरमा अर्जुनधारा धामले हाम्रो धार्मिक स्थलको नजिकै रहेको स्पष्ट प्रमाण दिएको छ। केही समय अघि सम्म पूर्वमा रहेको नेपालको सबैभन्दा होचो स्थान केचनकवल वा केचना बिर्तामोडबाट करिब २० किलोमीटर दक्षिणमा अवस्थित छ। यहाँबाट पश्चिम् जाँदा ३८ किलोमिटर पर अर्को जिल्ला मोरङ्ग पुगिन्छ।

बिर्तामोड व्यवसायहरु मात्र नभएर विभिन्न संघ संस्थाको केन्द्रबिन्दु रहेको छ। लायन्स क्लब, रोटेरी क्लब, नेपाल जेसिज, रोट्र्याक्ट क्लब आदि दर्जनौ संघ संस्थाले बिर्तामोडको सामाजिक दायित्व अन्तर्गत विभिन्न क्षेत्र अन्तर्गत काम गरिरहेका छन्। बिर्तामोडमा कुनै चेतनामुलक कार्यक्रम गर्न पर्दा यिनै संघ संस्था विभिन्न कार्यक्रम र सहभागिताका साथ अगाडि आउँछन्।

बिर्तामोड काठमाडौँपछि नेपालको सबैभन्दा दोश्रो ठूलो रगत संकलन केन्द्र हो भन्दा फरक पर्दैन। विभिन्न संस्थाहरुले पटकपटक जनचेतना अभिवृद्धि गर्न र सामाजिक दायित्व अन्तर्गत कार्य गर्न यहाँ समय समयमा रगत डोनेसन गर्न प्रेरित गर्दै ब्लड बैंकको स्थापना सहित रगत संकलनमा टेवा पुर्याईरहेका छन्। यहाँ संकलन गरिएका रगतको माग पश्चिम् नेपाल सम्म पुर्याउने गरिन्छ। यसले प्रत्यक्ष अप्रत्यक्ष धेरैलाई सेवा पुगेको छ।

बिर्तामोडमा यी सबै सुबिधा हुँदा हुँदै नगरलाई केहि क्षेत्रमा बेवास्ता गरेको पाउन सकिन्छ। बिर्तामोड आफैँमा सुन्दर थियो तर अहिले आएर सडक फराकिलो बनाउँदा मुख्य राजमार्गका रुख हरु काटिएका छन्। विश्राम स्थल वा भनौँ चौतारीको अभाव देख्न सकिन्छ बिर्तामोडमा। गर्मी महिनामा होस वा बर्षात पर्दा ओत लाग्ने वा छहारी पाउने स्थान छैन बिर्तामोडमा।

बिर्तामोड सुन्दर, शिक्षित र चेतनशील समूहको बसाई भएपनि यहाँ सबै भन्दा चुनौती एउटा पनि सार्वजनिक शौचालय नहुनु हो। बजारमा लाग्ने भिडलाई सेवा पुर्याउन नसक्नु नगरको कमजोर पक्ष मध्य एक देखिन्छ। यहाँ किनमेल गर्न आउने हरेक व्यक्ति कि त नास्ता खाने निहुँमा होटल छिरेर शौचालय जान्छन् वा अस्पताल, बैंक छिरेर विकल्प सोच्दछन्। अन्यथा सार्वजनिक शौचालयको सुविधाबाट आशा मारेर घर फर्कन्छन्। नगरपालिकाले यता ध्यान पुर्याउने कि?

त्यस्तै अर्को समस्या रहेको छ बढ्दै गएको ट्राफिक जाम। बिर्तामोड ट्राफिकको दृष्टिकोणले संबेदनशील बन्दै गएको छ। ट्राफिक कार्यलयले चुस्त दुरुस्त व्यवस्थापन गरेपनि बढ्दो घनत्व र सवारी साधनले बिर्तामोडमा ट्राफिक जाम आजकल धेरै हुने गरेको पाईन्छ। वैकल्पिक बाटोको व्यवस्थापन वा फराकिलो सडक बनाएर लेन अनुशासनले मात्र ट्राफिक जाम नियन्त्रणमा आउने देखिन्छ। यति सानो सडकमा ट्राफिक पुलिसको नियमित सेवा सुविधाले बिर्तामोडमा ठूलो ट्राफिक समस्या आईपरेको छैन।

बिर्तामोडमा सबैभन्दा ठूलो आवश्यकता भनेको फोहोर व्यवस्थापनको रहेको छ। नगरपालिकाले केही समय अघि फोहोर व्यवस्थापन निराकार कम्पनीलाई दिएपनि डम्पिङ्ग साईटकाे अभावमा कम्पनी समय समयमा फोहोर व्यवस्थापनमा चुकिरहेको छ। सडक किनारमा जथाभावी फोहोर थुपारिनुले बिर्तामोड फोहोरी शहरको रुपमा नयाँ आगन्तुकको मानासपटलमा बस्ने संभावना प्रचुर छ। फोहोर व्यवस्थापन आजको सबैभन्दा ठूलो समस्या र चुनौती रहेको छ। बिर्तामोड नगरपालिकाले यस विषयमा उच्च ध्यान पुर्याउन जरुरी छ।

यी हुन मैले देखेको बिर्तामोड। म जस्ता धेरैले देखेको बिर्तामोड अधिकाङ्सको यहि जस्तो हुन सक्छ। बिर्तामोड हाम्रो हो। हामी बिर्तामोडका हौँ। बिर्तामोड जति विकसित भयो त्यति राम्रो। बिर्तामोड जति व्यवस्थित भयो त्यति राम्रो। बिर्तामोड सुन्दर पार्ने हामी सबै को कर्तब्य हो।

बिर्तामोडमा भौतिक सबै प्रकारका सुबिधा हुँदा हुदैपनि सडकका खाल्डा खुल्डी पुर्नु, ट्राफिक जाममा नियन्त्रण र कार्य तर्जुमा गर्नु, खुल्ला पिसाब स्थल निरुत्साहित गर्दै सार्वजनिक शौचालय निर्माणमा ध्यान दिनु, फोहोरको उचित व्यवस्थापन गर्नु आजको आवश्यकता रहेको छ। यदि यी क्षेत्रमा पनि ध्यान दिएर कार्य सम्पन्न गर्ने हो भने बिर्तामोड अझ सुन्दर र सफल शहर हरु मध्य सर्वोत्कृष्ट हुनेछ।

बिर्तामोड हाम्रो हो यसलाई अझ राम्रो पार्नु हाम्रो कर्तब्य हो।

तपाईँको मत