दिगोविकास

संसदमा ओलीकाे प्रश्नै प्रश्न

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रश्नै प्रश्न तेर्साएका छन् । 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष ओलीले जनजिविकाकाे विषयदेखि बजेट निर्माणकाेसमेत आलोचना गरेका छन् ।

‘इनफ इज इनफ’

ओलीले सत्तारूढ दलका नेताहरूलाई अमेरिकासँग भएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को विषयमा आफूलाई आरोप नलगाउन चेतावनी दिएका छन् ।उनले सत्ता गठबन्धन दलका नेताहरूले आफू प्रधानमन्त्री हुँदा नै सुटुक्क एसपीपीमा हस्ताक्षर गरेको भ्रम फैलाइरहेको भन्दै जथाभाबी नबोल्न चेतावनी दिएका हुन् । ओलीले एसपीपीबारे कहिले के भयो भन्ने प्रश्न गरे । यसअघि उनले सरकारले हरेक क्षेत्रमा अत्ति नै गर्न थालेको आरोप लगाए । 

ओलीले भने,  ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इनफ इज इनफ, अब चाहिँ अति नै भयो ।’

“कुन कुन प्रधानमन्त्री, को को रक्षामन्त्रीले निर्णय गरेका हुन् ? सत्थ्यतथ्य कुरा बाहिर ल्याउन म आग्रह गर्दछु” उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्दै भने, “यस विषयको सत्यतथ्य कुरा सदनलाई जानकारी गराउनुपर्छ, प्रधानमन्त्रीज्यूले त्यो काम गर्नुहोला ।” 

ओलीले बजेट बनाउँदाका सबैजसो मूल्य, मान्यता अर्थ मन्त्री जनार्दन शर्माले मिचेको भन्दै यसलाई बजेट भन्न अफ्ठेरो भएको बताए । बजेट निर्माणको प्रक्रियामा नै मूल्य, मान्यता तोडिएको र अनधिकृत व्यक्ति प्रवेश गराएर करका दरमा अर्थ मन्त्रीको बेइमानी देखिएको ओलीको आरोप छ ।  

‘प्रमुख प्रतिपक्षी दल, संसद्को सबैभन्दा ठूलो दल संसदमा छ, संसदबाट हामीले सीसीटीभी फुटेज माग गर्‍याैँ तर अर्थ मन्त्रीले त को हो एमाले भन्ने जवाफ दिए, म नै राज्य हुँ, कसले के गर्न सक्छ भन्ने हिसाबले जवाफ आयो, यो कस्तो संसदीय प्रणाली हो ?’, ओलीले भने । उनले अर्थ मन्त्रीमा 'आई एम द स्टेट' भन्ने दम्भ पलाएको आरोप लगाए । 

देशको अर्थतन्त्रको विरुद्ध अहिलेसम्म विश्वमै यस्तो विकृति कतै पनि नदेखिएको ओलीको दाबी छ । याे देशकाे नभइ व्यापारीकाे बजेट भएकाे उहाँकाे भनाइ थियाे । 

सीसीटीभी किन गायब गरियो ?

बजेटबारेको सीसीटीभीको फुटेज माग गर्दासमेत सरकारले उपलब्ध गराउन नसक्नु विडम्बना भएको ओलीले बताए । किन उपलब्ध गराउन सकिएको छैन ? आर्थिक अनुशासनहीनताको यो लज्जाजनक अवस्था हो । छानबिन समिति बनाएर यसबारे छानबिन गरिनुपर्छ । निष्पक्ष समिति बनाएर छानबिन गरेर प्रतिवेदन सदनमा पेश गरिनुपर्छ उनले भने । 

“को हो एमाले भनेर प्रश्न गर्ने ? यसको सही सत्यतथ्य जवाफ दिइनुपर्छ” अध्यक्ष ओलीले थपे, “संसदीय व्यवस्थामा को हो प्रतिपक्षी दल भनेर सोध्ने ?, तपाईहरुलाई त्यो पनि जानकारी छैन ? सीसीटिभीको फुटेज डिलिट गर्न पाइन्छ ?” उनले जिज्ञासा गरे । आफूमाथि लागेको आरोप प्रष्ट पार्ने मन्त्रीको कर्तव्य हुन्छ उनले भने । 

प्रधानमन्त्री देउवा गठबन्धन दलको अगाडि लाचार भएको उनले टिप्पणी गरे । गठबन्धन जोगाउन जे पनि गर्न पाइँदैन अध्यक्ष ओलीले थपे, “बिचौलिया मान्छे राखेर देशको बजेट बनाउने विषय तमासा नभएर के हो त यो ?” त्यसको छानबिन गर्न उनले माग गरे । मन्त्री पदमा रहँदा जे पनि गर्न छुट नरहेको उनले बताए । मन्त्री र सरकार जनताप्रति जवाफदेही हुनैपर्छ उनले बताए । 

‘गृहमन्त्रालयको अनिवार्य पालना गर्नुपर्ने सिसीटिभिको फुटेज कसरी डिलिट भयो। सिसिटिभी ठेलामा मकै पोल्नेले मान्नुपर्ने। सिसिटिभी अर्थ मन्त्रालय र अर्थमन्त्रीले मान्नुनपर्ने? किन दिन्छु दिन्नँ भन्ने बेलामा थियो नि। अहिले डिलिट भयो। यत्रो गम्भीर विषयमा’ उनले भने। उनले छानविन समिती बनाएर छानविन गर्न माग गरे। 

आफ्ना स्वार्थको खेती गर्ने ठाउँ हो यो देश ? 

ओलीले गठबन्धन टिकाउनबाहेक सरकारले अर्को कुनै काम गर्न नसकेको टिप्पणी गरेका छन् । 

‘आफ्ना स्वार्थको खेती गर्ने ठाउँ हो यो देश ? एउटा दल विशेषका स्वार्थ, गठबन्धन विशेषका स्वार्थको बाली काट्ने, फसल उठाउँने ठाउँ हो यो देश ?’ उनले प्रश्न गरे । ‘यता जुइनो खुस्किन्छ, त्यहाँ बाँध्यो, यता किला फुस्किन्छ, उता बाँध्यो,’ गठबन्धनप्रति व्यङ्ग्य गर्दै उनले अगाडि भने, ‘राजनीतिक हिसाबले, राष्ट्रियताको हिसाबले, अर्थतन्त्रका हिसाबले देशका लागि यो गठबन्धन अभिशाप हो ।’

किसानले मल पाउँदैनन्, महँगी बढेको छ तर पनि सरकार बेखबर बन्ने गरेको उनको आरोप छ । उनले भने, ‘सरकारको एउटै संकल्प गठबन्धन टिकाउनेमात्र छ ।’ देशका लागि गर्नुपर्ने अठोट, संकल्प सरकारसँग केही नभएको उनले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत