स्वास्थ्य

हैजा सम्बन्धी गुनासो सुन्न काठमाडौँ महानगरमा २४ घण्टे हटलाइन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज देखि हैजा सम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छ । यस अघि कोभिड रोकथाम तथा नियन्त्रणका लागि  प्रयोग गरिएको ११८० नम्बरलाई राष्ट्रिय सभा गृहको कल सेन्टरमा स्थानान्तरण गरेर सेवा थालिएको हो ।

जनस्वास्थ्य सम्बन्धी जोखिम पूर्वअनुमान गरेर व्यवस्थापनका काम थालिएको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को भनाइ छ । जनस्वास्थ्यको सवालमा महानगरले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउँदै प्रमुख शाहले, नगरबासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल गरेका छन् ।

‘हैजा रोकथाम गर्न नागरिकका सचेतनाका लागि सबै वडामा वातावरण व्यवस्थापन विभागमार्फत एक हप्ता माइकिङ् हुँदैछ । विद्यार्थीहरुलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयहरुमा जानकारीमुलक कार्यक्रम हुँदैछ ।’ स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठी भन्छन्, ‘हामीले सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरुलाई जीवन जल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेका छौँ । विरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाएका छौँ ।’

हैजाको प्रकोप भएको ठाउँमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयमसेविका र वास स्वयमसेवक परिचालन गर्ने तथा सरोकारवालासँग सहकार्य गर्ने महानगरले निर्णय गरेको छ ।

हैजा खानेकुरा र पानीबाट सर्ने भएकोले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ । यस्तै पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत