पूर्वाधार

अवरूद्ध नागढुंगा सुरुङ निर्माण सुरु

फाइल तस्बिर

काठमाडाैं । काम ठप्प भएको एक सातापछि नागढुंगा–सिस्नेखोला सुरुङ निर्माण पुनः सुरु गरिएको छ । चन्द्रागिरि नगरपालिका–२ का स्थानीयले गत चैत २८ मा सुरुङका कारण खानेपानीका मुहान सुकेको भन्दै निर्माण कम्पनी र परामर्शदाताको कार्यालयमा तोडफोड गरेपछि काम ठप्प बनेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आयोजना र वडा नम्बर २ का स्थानीयबीच भएको छलफलमा आइतबार निर्माण सुरु गर्ने सहमति जुटेको हो ।

स्थानीयलाई आवश्यक पानी नगरपालिकाको रोहवरमा ट्यांकरमार्फत दिने सहमति भएपछि निर्माण अघि बढाउने सहमति भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले जानकारी दिए । पहिला आयोजनाले १ नम्बर वडामा ३ र २ नम्बर वडामा ५ ट्यांकर पानी दिइरहेको थियो । दीर्घकालीन रूपमा समस्या समाधान गर्न बोरिङ बनाएर पानीको व्यवस्थापन गर्ने सहमति पनि भएको शाक्यको भनाइ छ । ‘सिँचाइका लागि सुरुङबाट निस्किएको पानीलाई लिफ्टिङ गरेर ल्याउनेबारे सम्भाव्यता अध्ययन गरिनेछ,’ उनले भने, ‘यसका लागि १ हजार फिट लिफ्ट गर्नुपर्नेछ, जुन चाहिएको खण्डमा मात्र गर्ने सहमति भएको छ ।’

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, काठमाडौंका सुरक्षा निकायका प्रमुख, सुरुङ मार्ग आयोजनाका प्रमुखलगायतको सहभागितामा भएको बैठकले सुरुङ मार्ग क्षेत्र बस्तीमा पानीको सुनिश्चितता गर्नुपर्ने निर्णयसँगै सुरुङ मार्ग निर्माण पुनः सुरु भएको हो ।

आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार पानीको समस्या तत्काल समाधानका लागि चन्द्रागिरि नगरपालिकाको संयोजकत्वमा ट्याङ्करबाट पानी वितरण गर्ने र दीर्घकालीन समाधानका लागि अहिलेको पम्पलाई अझ तल सारेर पानी उत्पादन क्षमता बढाउने र वडा नं. २ मा ‘डिप बोरिङ’ गर्ने तथा सोको सम्पूर्ण खर्च आयोजनाले बेहोर्ने सहमति भएको हो । ‘डिप बोरिङ’ गर्नका लागि जग्गा नगरपालिकाले उपलब्ध गराउनुपर्ने हुन्छ ।

त्यसैगरी सुरुङ क्षेत्रमा सिँचाइका लागि सिस्नेखोलाको पानीलाई लिफ्ट गरी माथि तानेर पानी उपलब्ध गराउन आवश्यक अध्ययन सुरु गरिने सहमति भएको हो । सुरुङमाथि जग्गाको मुआब्जा कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको ठहर गर्दै त्यसको मुआब्जा नदिनुपर्ने, स्थानीयवासीले सुरुङमाथि घर बनाउन पाउने तर ‘डिप बोरिङ’ जस्ता संरचना निर्माण गर्न नपाउने सहमति भएको जानकारी शाक्यले दिए ।

उनका अनुसार सुरुङ मार्ग सञ्चालनमा आएपछि सुरुङ मार्गमा उठाइएको करबाट चन्द्रागिरि नपा वडा नं. २ लाई समेत केही भाग दिनुपर्ने स्थानीयवासीको मागको सम्बोधन अर्थ मन्त्रालयले गर्ने सहमति भएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत