फेरि सत्याग्रह थाल्ने डा. केसीकाे चेतावनी, यी हुन् पाँच बुँदे माग
- गाउँ सहर संवाददाता
- २ बैशाख शुक्रबार, २०७९ | ११:४४:०० मा प्रकाशित

काठमाडाैं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झौता कार्यान्वयन नभएको भन्दै डा.केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन् ।
‘यही अवस्था अर्को पाँच वर्ष पनि दोहोरिने हो भने देशको स्वास्थ्य प्रणाली पूर्ण रुपमा धराशायी हुने निश्चित भएकाले आसन्न स्थानीय र त्यसपछिको प्रादेशिक तथा आम चुनावमा पार्टीहरूको सही प्राथमिकता सुनिश्चित गर्नु अनिवार्य बनेको छ’ उनले भनेका छन्, ‘त्यसैले देशको स्वास्थ्य प्रणालीमा सुधार गर्नका लागि सरकार र मुख्य राजनीतिक दलहरुलगायत सबै सरोकारवाला समक्ष निम्न मागहरु प्रस्तुत गर्दछौं । यी माग पूरा नभएमा कुनै पनि बेला सत्याग्रह शुरु गर्ने जानकारी गराउन चाहन्छौं ।’
केसीको पाँच बुँदे माग
१. तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस् । जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित गरियोस् । संविधानले सबैका लागि निःशुल्क आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस् । सरकारले तोकेको सुची अनुसारका सबै औषधि आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस् । स्थानीय तहको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस् । देशभर दिगो स्वास्थ्य सेवा पुर्याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस् । स्वास्थ्य चौकीदेखि जिल्ला र प्रदेश अस्पतालका वरिपरि च्याउझैं खुलेका तर मापदण्ड नपुर्याइ जथाभावी जोखिमपूर्ण सेवा दिइरहेका निजी संस्था बन्द गरेर दोषीलाई दण्डित गरियोस् । प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला स्वास्थ्य सेवा कार्यालय र अस्पताललाई गैरचिकित्सक नभई चिकित्सकको मात्र नेतृत्व दिने व्यवस्था गरियोस् ।
२. स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गरियोस् । विभिन्न प्रतिष्ठानहरुमा जनशक्तिको अभाव पुर्ति गर्दै दाङ लगायत मधेश र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण शुरु गरियोस् ता कि चिकित्सा शिक्षा ऐनअनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आउन् । त्यस्तै हामी संग समझौता भए अनुरुप डोटी वा डडेलधुरा, उदयपुर, इलाम वा पांचथर मा पनि तुरुन्त सरकारी मेडिकल कलेज निर्माण गरियोस् र कैलाली गेटामा अर्को वर्षदेखि एम वी वी एस लगायतका कार्यक्रम हरु को पठन पाठन शुरु गरियोस्। सरकारी स्वास्थ्य शिक्षण संस्थाहरु मा स्नातकोत्तर तह को निशुल्क पठन पाठन को लागि चिकित्सा शिक्षा ऐन बमोजिम (बीचमाअवरोध आउन नदिन) दिगो सरकारी आर्थिक सहयोग को व्यवस्था गरियोस्।
३. सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरियोस् ।
४. आपराधिक पृष्ठभुमिका व्यक्तिले चलाइरहेका नोबेल मेडिकल कलेज र काठमाडौं कलेज तथा अरु कलेजहरुमा समेत विद्यार्थीबाट अवैध रुपमा अतिरिक्त लाखौं रुपैयाँ असुल्ने प्रयास अहिले पनि जारी छ । चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनका बाबजुद अवैध असुलीको प्रयास र विद्यार्थीमाथिको गुण्डागर्दी अझै जारी भएकाले त्यसलाई तत्काल रोकी दोषी मेडिकल कलेज सञ्चालकहरुमाथि कडा कारवाही गरियोस् ।
५. हामीसँग विगतमा भएका सम्झौताहरु तथा प्रधानमन्त्रीले गरेका प्रतिबद्धता कार्यान्वयन गरियोस्ः
चिकित्सा शिक्षा ऐनको प्रावधान अनुसार नेपालको मेडिकल शिक्षालाई गैरनाफामुलक बनाउने
बीपी प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीहरुलाई बर्खास्त गरी कारवाही गर्ने
प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्ने
चिकित्सा शिक्षा आयोगका सहअध्यक्षबाट मन्त्रीहरुलाई हटाउने, आदि ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
प्रतिकृया दिनुहोस