अर्थतन्त्र

मतदाताको गुनासो, चिन्ता सुन्यौं, अभियानका क्रममा कांग्रेसकाे संगठन विस्तार व्यापक : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि फागुन २९ गतेदेखि सुरु गरेको ‘घर–घर जाऔं, नेपाली कांग्रेस जिताऔं’अभियान सकिएको जनाएको छ ।

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले मंगलबार पत्रकार सम्मेलनमा एक महिने अभियान सकिएको जानकारी दिएका हुन् । उनले अभियान अन्तर्गत स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भइ आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाइएको बताए ।

स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरेको कांग्रेसले जनाएको छ । उनले भने, ‘अभियानका क्रममा संगठन विस्तार व्यापक भयो । मतदाताको गुनासो, चिन्ता सुन्यौं र कांग्रेसको तर्फबाट कुरा पनि राख्यौं । टोलटोलसम्म संगठन विस्तार पनि भयो । कांग्रेसले गरेका कामबारे अभियानका क्रममा जानकारी गरायौं । सबै जिल्लामा केन्द्रमा प्रतिनिधि खटिनु भएको थियो ।’

महतले गठबन्धमा आबद्ध दलहरूले स्थानीय तहमा आफ्नो यथार्थ अवस्था लुकाए चुनावी तालमेलमा समस्या आउने बताएका छन् ।

मंगलबार आयोजित पार्टीको पत्रकार सम्मेलनमा उनले अरू दलहरूलाई आफ्नो वास्तविक अवस्था प्रस्तुत गर्न अनुरोध गरे । उनले प्रतिनिधिसभाका सीमित सांसदहरू बाँडफाँड गरेजस्तो स्थानीय तहमा तालमेल गर्न सहज नभएको पनि बताए ।

भागबन्डाका विषयमा हाल आइरहेका कुरा सत्य नभएको उनले बताएका छन्। स्थानीय आवश्यकताका आधारमा स्थानीय समितिहरुले तालमेल र भागबन्डा गर्ने उनको भनाइ छ। 

तालमेल गर्दा कांग्रेसकै नेताहरुलाई अन्याय पर्न नदिने उनको भनाइ छ । गठबन्धनका सवै दललाई यथार्थवादी भएर आफ्नो प्रभावअनुसार दाबी गर्न भनिएको उनले बताए ।

प्रेस नाेटकाे पूर्ण विवरण

नेपाली कांग्रेसले आरम्भ गरेको “घरघर जाऔं,कांग्रेस जिताऔ” : अभियान आज सम्पन्न हुँदैछ । गत फागुन २९ गतेदेखि आरम्भ भएको यस एक महिने अभियान देशका सातै प्रदेश, ७७ जिल्ला, ७५३ पालिका ( महा–नगरपालिका–६, उप–महानगरपालिका–११,नगरपालिका–२७६,गाँउपालिका–४६०)र तिनका सबै ६७४३ वडामा अत्यन्त उत्साहका साथ ब्यापक जनसहभागितामा सञ्चालन भएर सफलताका साथ सम्पन्न भएको छ ।

यस अभियानमार्फत पार्टीले आठ उद्देश्य पूरा गर्ने लक्ष्य लिएको थियो ।

१) बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्दै निर्वाचनको माहौल बनाउने,

२) स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्ने कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन मतदातालाई अपील गर्ने,

३) “हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी” को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालनतर्फ उन्मुख गराउने,

४) नेपाली कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने,

५) नेकपाको सरकारको गत ३ बर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापक रूपमा राख्ने,

६) प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका वावजुद संविधान रक्षाका लागि वाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने,

७) नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसंग अझै सतर्कताका लागि अपील गर्ने,

८) राष्ट्रिय सहमति निर्माण गरी हालै सम्मको सबैभन्दा ठूलो सहयोग परियोजना एमसीसी (ःऋऋ) नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीको सुझवुझपूर्ण नेतृत्वमा वर्तमान सरकारले संसदबाट पारित भएको हुँदा त्यसबारे जनस्तरमा छरिएको भ्रम र दुष्प्रचारलाई वुँदागत रुपमा चिर्दै वास्तविक रुपमा राख्ने ।

यी उद्देश्यहरु पूरा भएका छन् । अभियान सञ्चालनमा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिनु भएको थियो । उहाँहरुमध्ये कतिपय जिल्लाका कार्यक्रमहरु सम्पन्न गरेर राजधानी फर्कनुभयो, कतिपय प्रतिनिधिहरु फर्कदै हुनुहुन्छ ।

अभियानको क्रममा नेपाली कांग्रेसको हरेक तहका संगठन परिचालित भएका छन् । केन्द्रीय कार्य समिति, प्रदेश समिति, जिल्ला कार्य समिति, प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति, प्रदेशसभा क्षेत्रीय कार्य समिति,गाउँ ÷नगर पालिका कार्य समिति, वडा कार्य समितिका पदाधिकारी र सदस्यहरु सक्रिय रुपमा परिचालित

हुनुभयो । यस अभियानमा पार्टीका सबै भातृ तथा शुभेच्छुक संस्थाहरु परिचालन भएका छन् । यस अभियानकै क्रममा टोल टोलमा समिति गठन भएका छन् । वडा र टोलका साथीहरुको नेतृत्वमा देशभरका लाखौ सदस्यहरु परिचालित हुनु यसको सुन्दर पक्ष हो ।

उद्देश्यको कसीमा हेर्दा स्थानीय निर्वाचनको माहौल बनाउन यो अभियान अत्यन्त सफल भएको छ । १४ औं महाधिवेशनका बेलाको प्रतिस्पर्धाले सिर्जना गरेको आपसी मतभेदलाई मेटाउदै यस अभियान अन्तरगत नेपाली कांग्रेसका सबै तहका नेता कार्यकर्ताहरु मतदाताहरुको घरघरमा पुग्नुभयो । पार्टीभित्र एकता र ऊर्जा अभिबृद्धि गराउन यो अभियान सार्थक भएको छ ।

यस अभियानको क्रममा हरेक पालिकाका वडा वडामा टोल समिति गठन भएका छन् । दशौं हजार टोल समितिको निर्माणले एकातिर पार्टीको संगठन विस्तारमा टेवा दिएको छ भने अर्कोतिर लाखौं सक्रिय कार्यकर्ताहरुलाई नयाँ जिम्मेवारी थपिएको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकार र स्थानीय सरकारले गरेका कामको बारेमा स्थानीय नागरिकलाई विस्तारमा जानकारी दिने काम भएको छ । नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी,सडक, विद्युत, सिंचाई, सूचना, सञ्चार तथा प्रविधि, वैदेशिक रोजगार, पर्यटन,उद्योग,ब्यापार,बैंकिङ, शेयर बजार जस्ता आर्थिक सामाजिक क्षेत्रको विकास र जनताको जीवनस्तर सुधारका क्षेत्रमा नीतिगत परिवर्तन र सो अनुरुप कार्यक्रम ल्याएर विकासलाई गति दिने काम कांग्रेसले मात्र गरेको छ भन्ने कुरा जनताका बीचमा स्पष्ट ढंगले गएको छ ।

विपक्षी दलहरुले केन्द्रदेखि स्थानीय सरकार सञ्चालन गर्दा भएका आर्थिक एवम् प्रशासनिक अनियमितताका विषयहरु र खास गरि नेकपा एमालेका वर्तमान अध्यक्ष के.पी. शर्मा ओलीले सरकार सञ्चालन गर्दा भएका सेक्युरिटी प्रेस काण्ड, यति काण्ड, ओम्नी काण्ड, कोरोनाको खोप खरिदमा कमिशनका खोप आउन नसकेको कुरा, कोरोना कालमा विदेशबाट अलपत्र श्रमिक उद्धारको चार्टर उडानमा गरिएको भ्रष्टाचारजस्ता अनियमितता जनताका बीचमा उजागर भएका छन् । कतिपय जिल्लामा नेपाली कांग्रेसका सरकारले गरेका काम र विपक्षीले गरेका भ्रष्टाचारको बारेमा पुस्तिका नै बनाएर वितरण भएको छ ।

तात्कालीन प्रधानमन्त्री ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरि दुई दुई पटक गर्नुभएको प्रतिनिधिसभा विघटनको सिफारिस अदालतले बदर गरेपछि संविधान बचाउन नेपाली कांग्रेसले अन्य दलको अनुरोधमा सरकारको नेतृत्व सम्हाल्ने अवस्था आएको कुरा जनतालाई बुझाउन यो अभियान सफल भएको

छ । सबैभन्दा लामो इतिहास भएको र प्रजातन्त्रको स्थापना,पुनस्थापना र विकासमा समर्पित रहदै आएको नेपाली कांग्रेसबाट मात्रै देशको लोकतन्त्र र संविधान सुरक्षित रहन सक्छ । नेपाली कांग्रेस विश्वका सबै मुलुकले पत्याएको पार्टी हो भन्ने सन्देश जनताबीच पु¥याउन यो अभियान सफल छ ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि नागरिकको जीवनलाई उच्च प्राथमिकता दिंदै खोपको व्यवस्थापन गरिएको छ । जोखिमयुक्त उमेर समूह पहिचान गर्दै अत्यावश्यक समूहका सबैलाई खोप दिंदै जाँदा एक मात्र खोप लगाउनेको हिस्सा ७५.७ प्रतिशत र पूर्ण मात्रामा खोप लगाउनेको संख्या ६६.१ प्रतिशत पुगेको छ । नागरिकहरु आफ्नो भविष्यप्रति निश्चिन्त भएका छन र मुलुक बन्दाबन्दी र निषेधाज्ञाको अत्यासलाग्दो अवस्थाबाट सामान्य अवस्थामा फर्किएको छ । जनताले सरकारमाथि भरोसा गर्ने स्थिति सिर्जना भएको छ ।

एमसीसीका सन्दर्भमा फैलाइएका भ्रम र अफवाहलाई चिर्न यो अभियान सफल भएको छ । हाम्रो आफ्नो माग अनुरुप अमेरिकाले ५०० मिलियन डलर(६० अर्ब रुपैया भन्दाबढी)को उदार आर्थिक अनुदानलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्वमा संसदबाट पारित गरिएकोले नेपालको अन्तर्राष्ट्रिय साःख पनि अभिबृद्धि गरेको छ । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गर्नुभएको मित्रराष्ट्र भारतको भ्रमण र मित्र राष्ट्र चीनका विदेशमन्त्री याङ् यीको हालै सम्पन्न नेपाल भ्रमणले नेपालको परराष्ट्र सम्बन्धलाई थप उचाई दिएका छन् । नेपालको अन्तर्राष्ट्रिय साःख अभिबृद्धि भएको छ ।

यो अभियानले हिमालदेखि तराईसम्म,मेचीदेखि महाकालीसम्म नेपाली कांग्रेसको पक्षमा अभूतपूर्व लहर ल्याएको छ । कांग्रेसका नेता, कार्यकता, शुभेच्छुक,समर्थक र मतदातामा उत्साहको सञ्चार भएको छ । तटस्थ देखिएका नागरिकहरुमा पनि ‘देशका सबै राजनीतिक दलले र विदेशले समेत पत्याएको भरपर्दो र देश चलाउने जिम्मेवार पार्टी नेपाली कांग्रेस नै रहेछ‘ भन्ने सन्देश पुगेको छ। यस अभियानका क्रममा पार्टीको प्रदेश,जिल्ला र पालिका तहमा प्रशिक्षण सम्पन्न भएका छन् ।

यस अभियानको क्रममा घरघरमा पुगेर हाम्रा साथीहरुले स्थानीय जनताका पीर–मर्का,गुनासो र समस्याहरु सुन्नुभएको छ । संकलन गर्नुभएको छ । कांग्रेससंग गुनासो राख्नेहरुलाई संबोधन गर्ने कोशिस भएको छ । स्थानीय घोषणापत्र निर्माण गर्न नागरिक पंक्तिसँग सार्वजनिक संवाद गरिएको छ । यसले स्थानीय निर्वाचन लक्षित स्थानीय घोषणा–पत्र निर्माणलाई सहयोग पुगेको छ ।

“घरघर जाऔं,कांग्रेस जिताऔ”ं अभियानले नेपाली कांग्रेसका नेता र कार्यकर्तामा अभूतपूर्व उत्साह जगाएको छ र आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित गरेको छ ।तर एक विशिष्ट राजनीतिक परिस्थितिमा भएको गठबन्धनलाई संगै लिएर हिड्ने सदासय अनुरुप हामी स्थानीय निर्वाचनमा तालमेलको प्रयासमा पनि छौ ।

नेपाली कांग्रेसले पहिलेदेखि नै स्थानीय आवश्यकता र परिस्थिति अनुरुप सत्ता साझेदार दलहरुबीच स्थानीय तहको निर्वाचनमा तालमेल गर्न सकिने संभावना औल्याएको थियो । राष्ट्र तथा जनताको हित, लोकतान्त्रिक पद्धतिको संरक्षण र संबर्धन तथा पार्टीको हितलाई केन्द्रमा राखेर आवश्यकताका आधारमा छिट्टै तालमेलको निर्णय हुनेछ ।

अन्त्यमा, यो अभियानमा सक्रिय रुपमा समर्पित भएर आ–आफ्ना ठाउँमा खटिनु हुने केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य,केन्द्रीय प्रतिनिधि, पार्टी र भातृ एवम् शुभेच्छुक संस्थाका सबै तहका पदाधिकारी, क्रियाशील सदस्य तथा सम्पूर्ण कार्यकर्ताका साथै कांग्रेसका कुरा सुनेर बुझिदिने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक धन्यवाद दिंदै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन अझ समर्पित भएर लाग्न आह्वान गर्दछु ।

“घरघर जाऔं, कांग्रेस जिताऔ” अभियानका समाचारहरु आ–आफ्ना सञ्चार माध्यमबाट प्रकाशित र प्रशारित गरेर आम नागरिकलाई सुसूचित गरिदिनुभएकोमा सम्पूर्ण सञ्चारकर्मी मित्रहरुलाई धन्यवाद दिन चाहन्छु । नेपाली कांग्रेस आगामी दिनमा पनि यहाँहरुबाट निरन्तर सहयोगको अपेक्षा गर्दछ ।

कार्यक्रममा उपस्थित हुनुभएकोमा सबैलाई धन्यवाद ।

जय नेपाल !

डा.प्रकाश शरण महत

पार्टी प्रवक्ता एवम् संयोजक

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रचार–प्रसार समिति

गाउँ सहर संवाददाता

तपाईँको मत